TodayPati

जाडोले जनकपुरसहित तराई मधेशको जनजीवन प्रभावित

टुडेपाटी-
जनकपुरधाम, पुस २० गते ।

बाक्लो हुस्सु, कुहिरोका कारण जनकपुरसहित तराई मधेशका केही जिल्लाको जनजीवन  प्रभावित हुन थालेको छ ।

तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ ।

Sponsored

हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । केही विद्यालयले जाडो बिदासमेत दिन थालेका छन्  ।

चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ ।  आज पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । केही ठाउँमा बेलुकासम्म नै कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

Sponsored

उनका अनुसार भोलि पनि बाक्लो हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । तराई बाहेकका जिल्लामा भने आज घाम लाग्ने अनुमान छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *