शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्नु निन्दनीय : डा सीके राउत
टुडेपाटी–
जनकपुरधाम, पुस १८ गते ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्नु निन्दनीय रहेको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले बताएका छन् ।
धनुषा गणेशमान चारनाथको पोर्ताहामा प्रहरीले चलाएको रबर बुलेट लागेर घाइते भएका आफ्ना पार्टीका कार्यकर्तालाई भेट्न प्रादेशिक अस्पताल पुगेका राउतले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाएर दमन गरेकोले यो आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
‘प्रहरीले प्लास्टिकको गोलीसँगै अन्य गोली पनि प्रयोग गरेको देखिन्छ । प्रहरीको यस्तो क्रुर दमन बन्द नभए किसान आन्दोलन अझ नयाँ ढंगले अघि बढ्नेछ’, राउतले भने ।
उनले प्रहरीलाई अनुरोध गरेरै आफ्ना नेता कार्यकर्ताहरु दुई घण्टा राजमार्गमा धर्ना बसेको अवस्थामा गोली बर्साउनु असहय रहेको बताए । काठमाडौंको अराजक आन्दोलनमा पानीले भिड नियन्त्रण गर्ने नेपाल प्रहरीले मधेसमा सामान्य आन्दोलनमा पनि गोली हान्नु मधेससँगको नश्लीय विभेद रहेको उनले बताए । राउतले प्रहरीले बन्दुकको दम्भ देखाएको आरोप समेत लगाए ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–८ स्थित पोर्ताहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले रबरको गोली चलाउँदा ५ जना प्रदर्शनकारी घाइते भएका छन् ।
Sponsored
सीके राउतका कार्यकर्ताहरु धनुषाको शहिदनगर नगरपालिका–१ बस्ने २५ वर्षीय विजय यादव, जनकनन्दनी गाउँपालिका–४ खजुरी बस्ने २२ वर्षीय बैजनाथ यादव, सबैला नगरपालिका–१ का संजयकुमार साह, कमला नगरपालिका–८ का २८ वर्षीय नथुनी यादव र विदेह नगरपालिका–५ का रामदयाल मुखिया घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र उनीहरुको अवस्था अब खतारामुक्त रहेको चिकित्सकले जनाएका छन् ।
यता, आन्दोलनकारीहरुले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।