क्रिकेटको प्रशिक्षणमा बोलाइएका ३० खेलाडीमध्ये ११ जना उपस्थित
टुडेपाटी–
काठमाडौँ, पुस १८ गते ।
आगामी टी–२० विश्वकम ग्लोबल छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बोलाइएको प्रशिक्षणमा खेलाडीहरु पुगेका छैनन् ।
कारबाहीमा परेका खेलाडीसहित उनीहरुलाई समर्थन गर्दै आएका खेलाडीहरुले होटल रिपोर्टिङमा पुग्न आनाकानी गरेका छन् ।
मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले छनोटका लागि ३० खेलाडीलाई बोलाएकोमा त्यसमा कारबाहीमा परेका ४ खेलाडीसमेत थिए। क्यानको शनिबार खेलाडीलाई होटल रिपोर्टिङ र आइतबार ओरिएन्टेसन हुने कार्यक्रममा कारबाहीमा परेका र उनीहरुलाई समर्थन गर्दै आएका खेलाडीहरु सहभागी भएका छैनन् ।
प्रशिक्षणको पहिलो दिन ११ जना खेलाडीमात्रै उपलब्ध भएका छन्। ६ खेलाडी भने आउने क्रममा रहेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए।
क्यानको २९ मंसिरको बोर्ड बैठकले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्तसहित कमलसिंह ऐरी र सोमपाल कामी गरी चार खेलाडीलाई आचारसंहिता उल्लघंन गरेको भन्दै केन्द्रीय कन्ट्याक्टबाट सुरुवाती ६ महिना बाहिर राखेको हो । सो विषयलाई लिएर केही खेलाडीले उनीहरुलाई समर्थन गरिरहेका छन्।
Sponsored