वैष्णोदेवी मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु
एजेन्सी-
काठमाडौं, पुस १७ गते ।
माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ। भारतको जम्मू–कश्मीरस्थित त्रिकुटा पहाडमा रहेको वैष्णेदेवी मन्दिरमा अन्य २० जना घाइते भएका छन्।
मन्दिरको गर्भगृहको बाहिर दर्शनका लागि भेला भएका श्रद्धालुहरुको भीडमा भागदौड मच्चिएको हो।
समाचार संस्था एएनआईले स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार शनिबार बिहान पौने तीन बजेतिर घटना भएको हो।
दर्शनार्थीबीचको विवादको क्रममा धकेलाधकेल भएको र त्यसले भागदौडको अवस्था आएको हो।
यता यस घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख र घाइते भएकाहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका हुन् ।
Sponsored
त्यस्तै जम्मू–कश्मीरका एलजी मनोज सिन्हाले दुर्घटनामा मृत्यु भएका परिवारजनलाई १० लाख र घाइते भएकाहरुलाई दुई लाख राहत दिने घोषणा गरेका हुन् ।