मल र गेहुँको बीउ नपाएको भन्दै धनुषाको कमला नगरपालिकामा तालाबन्दी
टुडेपाटी-
जनकपुरधाम, पुस १५ गते ।
मल र गेहुँको बीउ नपाएको भन्दै धनुषाको कमला नगरपालिकामा तालाबन्दी गरिएको छ । मलको व्यवस्था गर्नुपर्ने माग गर्दै बिहीबार स्थानीय किसानहरूले नगरपालिकाको मूल ढोकामा ताला लगाएका हुन् ।
किसानले नगरपालिकाबाट सहज रूपमा मल र बीउ नपाएको झोँकमा नगरपालिकामा तालाबन्दी गर्नुपरेको आन्दोलनरत किसान बताउँछन् । डा. सीके राउतको किसान आन्दोलनबाट प्रभावित भएर आफूहरूले कमला नगरपालिकामा तालाबन्दी गरेको बताइएको छ ।
किसानले तालाबन्दी गर्ने क्रममा नगरपालिकामा पुगेका नटवरलाल भनिने स्थानीय नेता जुक्तिराम यादव झण्डै कुटिएका छन् ।
केही वृद्धवृद्धालाई ल्याएर केही दिनअघि भाषण गरी फर्केका जुक्तिराम नगर प्रमुख राम उदगार गोइत काम विशेषले कार्यालय बाहिर हुँदा तालाबन्दी गर्न नगरपालिका आएका थिए । तर, त्यतिबेला किसानसमेत तालाबन्दी गर्न आएको र उनले लाउडस्पिकरमा भाषण गर्न थालेपछि माहौल तातिएको थियो ।
नगर प्रमुख गोइतले पार्टीको विशेष बैठकका कारण करिब एक महिनादेखि बाहिर रहेको दाबी गरे । उनले आफू काम विशेषले बाहिर रहेको र आइतबार कार्यालय पुग्ने बताए ।
Sponsored
यसअघि उपभोक्ता समितिले विकास निर्माणको काम गर्दा राखिएको धरौटी फिर्ताको माग गर्दै बुधबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।