TodayPati

जाडो छल्न कोइला बालेर सुतेका एकै परिवारको चारजनाको निस्सासिएर मृत्यु

टुडेपाटी–
काठमाडौं, पुस १५ गते ।

बाँकेमा जाडो छल्नका लागि कोइला बालेर सुतेका एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो भने अन्य तीनजना घाइते भएका छन् ।

Sponsored

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिम बहादुर घर्तीले श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जानकारी दिए ।

परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

कोठालाई न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *