कांग्रेस प्रदेश २ महिला खुल्ला सदस्यमा जितेपनि आफुलाई हराएको उम्मेदवार प्रेमा कुमारी झाको आरोप
टुडेपाटी–
जनकपुरधाम, पुस १४ गते ।
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएर मतपरिणाम समेत आइसकेको छ तर विवाद अझ कायम नै रहेको छ ।
कांग्रेस प्रदेशको नयाँ नेतृत्वका लागि महिला खुल्ला तर्फबाट उम्मेदवारी दिएकी महोत्तरीकी प्रेमा कुमारी झाले आफु निर्वाचित रहेपनि बदनियतपूर्वक हराएको आरोप लगाएकी छिन् ।
झाले निर्वाचनको अन्तिम मत परिणाम आइसकेपछि आफु सातौ नम्बरमा रहेपनि मतपरिणाम घोषणा गर्ने समय आफुलाई आठौँ नम्बरमा झारेर हराएको आरोप लगाएकी छिन् ।
निधि–कोइराला समूहबाट महिला खुल्लाबाट उम्मेदवारी दिएकी झाले भनिन्, ‘मतगणना सम्पन्न भएपछि मलाई ७ सय ३५ मत आएको थियो । तर घोषणा गर्ने समयमा निर्वाचन समितिले मेरोभन्दा कम मत रहेको उम्मेदवारको मत बढाएर निर्वाचित घोषणा गरे ।’
झाकी अनुसार मतगणना सम्पन्न भएपछि उनी ७ सय ३५ मत सहित सातौँ स्थानमा रहेको र ७ सय १९ मत सहित नेजमा खातुन आठौँ स्थानमा रहेकी थिइन् । तर मतपरिणाम टाँस्ने समयमा खातुनलाई ८ सय ५७ मत दिएर निर्वाचन समितिले निर्वाचित घोषणा गरेको उनको आरोप छ ।
Sponsored
प्रेमाकी श्रीमान प्रमोद झाले भने, ‘आइतवार विहान ३ बजे नै मतगणना सम्पन्न भएको थियो । त्यसपछि ८ बजे परिणाम सुनाउने भनेका थिए । हामी ८ बजे जाँदा भन्यो १० बजेपछि सुनाउँछौँ । तर सुनाएन्’, उनले अगाडी भेन, ‘पछि राति १० बजेपछि निर्वाचन समितिकै एकजना बाहिर आएर मतपरिणामको जानकारी दिए । र केही समयमा टाँस्ने जानकारी पनि दिएका थिए । उनले ल्याएको अन्तिममत परिणामको धेरैले तस्विर पनि लिए, मैलेपनि लिए । जितनेहरु खुशीयाली मनाउन थाले । मेरो घरमा मतदान भएकै दिन चोरी भएको कारण प्रेमा घर गएकी थिइन् र म निर्वाचन स्थलमा थिए । परिणाम आएपछि मैले उनलाई बोलाउने सोँचेका थिए ।’
प्रेमाकी श्रीमान प्रमोदले आइतवार विहान ३ बजे सम्पन्न भएको मतगणनाको परिणाम राति ११ बजेमात्र सुनाएको र त्यसमा चलखेल गरेर आठौँ नम्बरमा रहेकी खातुनलाई निर्वाचन समितिले निर्वाचित घोषणा गरेको आरोप लगाएका छन् ।
मतपरिणाममा चित नबुझेपछि उनले सोही राति नै आफुले निर्वाचन समितिमा निवेदन दिएको बताए ।
प्रदेश सदस्य खुल्ला महिलामा ७ पदका लागि निर्वाचन भएको थियो । जसमा निर्वाचन समितिका अनुसार रचना श्रेष्ठ माथेमा, पिंकी सिंह, रेखा कुमारी यादव, शिव कुमारी साह, विन्दा कार्की, नुरुन नेसा र नेजमा खातुन निर्वाचित भएकी छिन् ।
७ पदका लागि भएको निर्वाचनमा १२ जना उम्मेदवार थिए ।