TodayPati

सर्लाहीमा झडपको क्रममा प्रहरीको गोली लागेर घाइते भएका किशोरको काठमाडौंमा उपचार हुँदै

टुडेपाटी–
काठमाडौं, पुस १४ गते ।

आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका सर्लाही एक किशोरको काठमाडौंमा उपचार भइरहेको छ।

प्रहरीको भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछि त्यसको विरोधमा भइरहेको प्रदर्शनको क्रममा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय सजयकुमार महतो घाइते भएका हुन्। आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा उनको बायाँ घुँडामूनि गोली लागेको इलाका प्रहरी कार्यालय केशरजंगका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

Sponsored

गत आइतबार राति इलाका प्रहरी कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालक रामकुमार महतोको मृत्यु भएको थियो । दुर्घटना पछि उनलाई तत्कालै अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी ईश्वरपुर नगरपालिका–६ का स्थानीय व्यापारी थिए। सो घटनाबारे थाहा भएपछि स्थानीय आक्रोशित भएर विरोध प्रदर्शन गर्न थालेका थिए। प्रदर्शनले पछि उग्र रूप लिएको हो।

प्रदर्शनकारीले ढुंगामुढा, सवारीसाधनमा आगजनीसमेत गरेका थिए। प्रहरीकै एउटा भ्यानमा पनि आगजनी गरिएको थियो ।

Sponsored

इलाका प्रहरी कार्यालय भित्रै प्रवेश गरी तोडफोड गर्ने स्थिति बनेपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा गोली चलाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन ९५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। यस्तै एसएलआरबाट ८४ राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए।

‘लाठी चार्जले पनि सम्भव नभएपछि परिस्थितिलाई हेरेर सिडिओले गोली चलाउन आदेश दिएको र त्यसपछि आफुहरु ८४ पटक हवाई फायर गर्दा पनि नभएपछि गोली हानिएको बताए ।

यस्तै एक राउन्ड भने भीडमा हान्दा १८ वर्षीय संजयकुमार महतोको बायाँ घुँडामूनि लागेको हो । उनलाई तत्कालै उपचारको लागि जनकपुर ल्याइएको थियो ।

त्यहाँबाट उनको थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा रिफर भएको थियो । अहिले उनको अवस्था पनि सामान्य भएको प्रहरीले जनाएको छ।

बुधबार पनि सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, मृतकका बुवा, लगायतको उपस्थितमा इलाका प्रहरी कार्यालय लालबन्दीमा छलफल भइरहेको छ। प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

बुधबार ईश्वरपुरको अवस्था पनि सामान्य भएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *