सिरहाका एसपीलाई जनकारवाही गर्ने सीके राउतको चेतावनी
टुडेपाटी–
जनकपुरधाम, पुस १३ गते ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिरहाका प्रहरी प्रमुखलाई जनकारवाही गर्ने चेतावनी दिएका छन् । प्रहरीले पक्राउ गरेका उनका कार्यकर्ताहरुलाई २४ घण्टाभित्र नछाडे सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेलाई जनकारवाही गर्ने चेतावनी दिएका हुन् ।
आज सीके राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुव्र्यवहार भइराखेको, जाडोमा कपडा समेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको भनेर समाचार आएको छ । यदि २४ घंटाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ। सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ । २०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै। फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’
सीके राउतका पार्टीका कार्यकर्ताहरुले यस अघि धनुषाको जनकपुरधाम स्थित संघीय खानेपानी तथा ढल निर्माण व्यवस्थापन आयोजनाको कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाहीको नाउँमा दुव्र्यवहार गरेका थिए ।
कुशवाहालाई कुटपिट तथा हिलो लगाएर अर्धनग्न अवस्थामा नगर घुमाएका थिए ।
जनमत पार्टीको आन्दोलन पश्चात सिरहामा अहिले निषेधाज्ञा जारी गरिएको हो ।
Sponsored