उखुको मूल्य नतोक्दै पुस १५ देखि मिल सञ्चालनको तयारी, यस्तो छ सरकार र उद्योगीबीचको सेटिङ
टुडेपाटी-
जनकपुरधाम, पुस १३ गते ।
सरकारले उखुको मूल्य नतोक्दै पुस १५ देखि चिनी उत्पादकले मिल सञ्चालनको तयारी थालेका छन् ।
मिल चल्न तीन दिन मात्रै बाँकी हुँदा पनि उखुको बिक्री मूल्य नतोकिँदा अन्तिम घडीमा उद्योगीको चाहनाअनुसार नै मूल्य तोक्ने वातावरण सरकारले सिर्जना गरेको भन्दै उखु किसान चिन्तित बनेका छन् । किसानलाई सस्तोमा उखु बिक्री गर्न बाध्य पार्ने गरी सरकारले अन्तिम घडीमा मूल्य तोक्न लागेको उखु किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
किसान र उद्योगीले राखेको मूल्य, कृषि मन्त्रालयले गरेको अध्ययन र अन्तर्राष्ट्रिय अभ्यास हेरेर उखुको मूल्य तोक्नुपर्नेमा सरकारले किसानलाई भुलभुलैयामा पारेको उनको आरोप छ ।
मूल्य तोक्नेबारेको छलफलमा किसान प्रतिनिधिलाई तीन पटक काठमाडौं बोलाएर दुःख दिएको तर किसानको हित विपरीत मूल्य निर्धारण गर्न लागिएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।
मूल्य तोक्न किसानलाई डाक्ने, दुःख दिने र उद्योगीको बार्गेनिङ अनुसार मूल्य तोक्न मन्त्रालय लगेको संघर्ष समितिका सचिव हरेश्यामराय यादवले बताए ।
Sponsored
‘खेती गर्ने किसानलाई पन्छाएर उद्योगीसँग सरकारले बार्गेनिङ गर्यो, उखुको मूल्य तोक्न आन्दोलन गर्नुपर्ने अवस्था आयो,’ सचिव यादवले भने ।
उखु बेचेको पैसा लिन र उखुको उचित मूल्य पाउनै आन्दोलन गर्न पर्ने अवस्थाले किसानलाई खेतीप्रति निरुत्साहित गरेको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । किसानले आफ्नो लागतअनुसार माग गरेको भन्दा प्रतिक्वीन्टलमा १२६ रुपैयाँ कममा मूल्य तोक्न चलखेल भएको महासंघका अध्यक्ष कपिलमुनी मैनालीले दाबी गरे ।
किसानहरुसँग भएको छलफलमा उखुको मूल्य प्रतिक्वीन्टल ६८० रुपैयाँ तोक्न राजी भएको कृषि विकास मन्त्रालय उद्योगीले प्रभावमा परेर ५५४ रुपैयाँ मूल्य तोक्न अग्रसर भएको अध्यक्ष मैनालीले आरोप लगाए ।
पुस १५ गतेदेखि यसवर्षको उखु क्रसिङ शुरु हुन लागेको छ । विभिन्न जिल्लामा रहेका कुल १३ मध्ये यो वर्ष १० वटा चिनी मिलले उखु क्रसिङ गरेको चिनी उत्पादक उद्योगहरुको संस्था नेपाल चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले जानकारी दिए ।