राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता
टुडेपाटी-
काठमाडौं, पुस १० गते ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको जानकारी दिए । नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् ।
आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने गरी दल दर्ता गराएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने गरी दल दर्ता गराएका छन् ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि शनिबारसम्म दल दर्ताका लागि समयावधि तोकेको थियो । प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ ।
Sponsored
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
उन्नाइस पदका लागि हुने उक्त निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।