काँग्रेस प्रदेश २ अधिवेशन : उपसभापतिको मतगणना जारी
टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।
नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदतर्फ मतगणना जारी छ । शुक्रबार बिहान सभापति पदको नतिजा आइसकेपछि उपसभापति पदको मतगणना सुरु गरिएको थियो ।
सभापतिमा शेरबहादुर देउवा समूहका कृष्ण यादव बिमलेन्द्र निधि पक्षका रामसरोज यादवलाई १४१ मतको अन्तरले पराजि गर्दै विजयी भएका छन्।
दुबै पक्ष प्यानलसहित उम्मेदवारी दिएका थिए । जसअन्तर्गत कृष्ण यादवको प्यानलबाट उपसभापति पदमा प्रदेश २ का महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।
यस्तै सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दिएका छन्।
यस्तै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल चुनावी मैदानमा छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवारी दिएका छन्।
Sponsored
यस्तै सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेतले रामसरोजको प्यानलबाट उम्मेदवारी दिएका छन्।
कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीबार मतदान भएको हो। जम्मा मतदाता १९ सय ५१ रहेकोमा १८ ८१ मत खसेको थियो ।