दुबई २ साताका लागि लकडाउन
काठमाडौंं, चैत २३ गते ।
कोरोना भाइरसका कारण युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले दुईसाताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो ।
कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्म्लिकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान संचालन गरिने जनाएको छ । यस अवधिमा दुबईका कुनाकुनामा विषादी छर्केर निर्मलीकरण गरिनुका साथै घना बसोबास भएको क्षेत्रहरुमा व्यापक रुपमा स्वास्थ परिक्षण गरिने बताइएको छ ।
लकडाउनको अवधीभर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन क्षेत्र, मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुनेछन् । रेष्टुरेन्टहरुलाई डेलिभरी सेवा दिन छुट दिइएको छ । यसैगरी उर्जा, सुरक्षा, डाक सेवा, बैंकिङ्ग, पानी, ग्याँस लगायतका क्षेत्रहरु नियमित संचालन हुन पाउनेछन् ।
यस अवधिमा अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन अनुमति छैन । खाद्य सामाग्री खरिद गर्न एक परिवारबाट एकजना मात्रै बाहिर निस्कन पाउनेछन् । सबैलाई मास्क लगाएर सामाजिक दुरि कायम राख्न आग्रह गरिएको छ। बैंकिङ क्षेत्र, मनि एक्सचेञ्ज, मर्मत सेवा तथा लन्ड्री सेवालाई बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुन पाउने छुट दिइएको छ ।
यसैगरी महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारहरुको सहजताका लागि दुबईको सडक तथा यातायात प्राधिकरणले निशुल्क सार्वजनिक बस संचालन गर्ने जनाएको छ । प्राधिकरणले ट्याक्सी भाडामा समेत ५० प्रतिशत छुट दिईने बताइएको छ ।
Sponsored