प्रदेश २ : लकडाउनमा ग्राहकलाई यसरी सेवा दिँदैछ सहयोगी विकास बैँक
टुडेपाटी
जनकपुरधाम, चैत २३ गते ।
कोरोना भाइरस संक्रमणका कारण मुलुकमा लकडाउनका बाबजुद सहयोगी विकास बैँकले सेवाग्राहीलाई सेवा दिन तत्परता देखाएको छ ।
अर्थ मन्त्रालयले स्थानिय निकायसंगको समन्वयमा आवश्यकतानुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा खोली सेवाग्राहीहरुलाई सेवा दिन दिएको निर्देशन अनुसार बैँकले विपतको समयमा समेत ग्राहकलाई सेवा प्रवाह गर्दै आएको हो ।
जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंकले आफ्नो १४ वटा शाखाहरु मध्ये जनकपुर, जलेश्वर, रामगोपालपुर, गौशाला, बर्दिबास र महेन्द्रनगर शाखाबाट गत चैत १३ गतेदेखि दिनहँु बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म शाखा खोली सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको हो ।
ती शाखा बाहेक यदुकुहा, सबैला, धनुषाधाम र पिपराबाट हप्तामा ३ दिन क्रमैसंग शाखा खोली सेवा दिई रहेको बैँकले जनाएको छ । शनिवारसम्म मात्र ती शाखाहरुबाट झण्डै १ हजार ग्राहकले सेवा प्राप्त गरेका छन् ।
गौशाला शाखाबाट एकै दिन ७० जना र जनकपुर शाखाले ६० जना ग्राहकले खाताबाट रकम झिक्ने, जम्मा गर्ने र रेमिटान्स भुक्तानी लिएका छन् । नेपाल सरकारले सामाजिक दुरी कायम गर्न दिएको निर्देशन र स्वास्थ विज्ञहरुको सुझावलाई मनन गर्दै कर्मचारीको स्वास्थय र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले न्यून कर्मचारीहरुबाट आफ्ना शाखा सन्चालन गरीरहेको छ ।
यसकालागि कार्यालयमा खटिएका कर्मचारीहरु बैंक हातामा प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुन लगाउने, सेनिटाइजर प्रयोग गर्न लगाउने, मुखमा मास्क लगाउने, हातमा पन्जा लगाउने, कर्मचारी कर्मचारी तथा कर्मचारी र सेवाग्राही बिच सामाजिक दुरी कायम गर्न सकिने गरी व्यवस्थापन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले बताए ।
साथै बैंक हाता भित्र ग्राहकहरुलाई व्यवस्थित रुपमा सेवा दिन टोकन दिई गेट बाहिरै बैंकले बनाएको सेतो घेरा भित्र बसाई सामाजिक दुरी कायम गर्ने र टोकन नम्बर अनुसार क्रमैसंग बैंक हातामा प्रवेश गराउने र प्रवेश गर्नु अघि ग्राहकलाई बैंकले व्यवस्थापन गरेको साबुन पानीले अनिवार्य रुपमा राम्रोसंग हात धुन लगाई तथा मुखमा मास्क वा कपडाले छोपी भित्र प्रवेश गराउने र बैंक हाता भित्र पनि बैंकले बनाएको सेतो घेरा भित्र बस्न लगाई व्यवस्थित रुपले सेवा दिँदै आएको उनले बताए ।
Sponsored
कार्यकारी अधिकृत खडकाले कर्मचारीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गरी स्वास्थ्य बिज्ञहरुले दिएको सुझावलाई सम्झौता बिना कार्यान्वयन गर्न सल्लाह र सुझाव दिँदै बेला बेलामा सोको अनुगमन समेत गर्दै आएको उल्लेख गरे । बैंकले आइतवारदेखि बांकी रहेका अन्य शाखाहरुमा पनि सोहि समयमा खोली सेवा दिने योजना बनाएको छ ।