अवैध नदी उत्खनन गर्ने ४ जनालाई धनुषा प्रहरीले पक्रे, जनप्रतिनिधिले छाडे
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, माघ २१ गते ।
धनुषा प्रहरीले चुरे क्षेत्रमा अवैद्य नदी उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरेको चालकलाई जनप्रतिनिधिले छाडिदिएका छन् । आइतबार राति ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरी जिल्ला समन्वय समितिलाई जिम्मा लगाएका चारजना चालकलाई सोमबार जनप्रतिनिधिले छाडेका हुन् ।
जिल्ला समन्वय समिति धनुषामा फेरि हाजिर हुने सर्तमा चारैजना चालकलाई छाडेको समितिका उपसभापति दीपक झाले जानकारी दिए ।
आइतबार राति धनुषा र सिरहाको सीमामा बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा ४ टिपर, एक जेसीभीसहित चारजना चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको थियो। पक्राउ गरिएको टिपर, जेसीभीसहित चालकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार जिल्ला समन्वय समिति धनुषालाई जिम्मा लगाएको थियो ।
जिम्मा लगाए लगतै समन्वय समितिले चालकहरुलाई छाडेको हो । ‘जिल्ला समन्वय समितिमा पक्राउ गरेका चालकलाई राख्ने ठाउँ छैन । कहाँ राख्ने, त्यसै कारण चारैजना चालकलाई पुनः उपस्थित हुने गरी छाडिएको छ’, समितिका उपसभापति झाले भने, ‘टिपर र जेसीभी नियन्त्रणमै छ । दुईदिनपछि अनुगमन समितिको बैठक बसेर के गर्ने विषयमा निर्णय हुन्छ ।’
चुरे क्षेत्र कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला प्रहरीले बा ३ खा ७६००, भे १ ख २९३९, ना २ क २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ क २९८७ नम्बरको एउटा जेसिभी नियन्त्रणमा लिएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले नियन्त्रणमा लिएको टिपर, जेसीभी सहित चालकलाई जिल्ला समन्वय समितिलाई कारबाहीको लागि जिम्मा लगाएको बताएका थिए ।
Sponsored
प्रहरीका अनुसार ना २ क २८४ नम्बको टिपरका चालक धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २४ बर्षीय पुण्यप्रसाद यादव, बा.२ क २९८७ नम्बरको एक्साभेटरका चालक सिरहाको कर्जन्हा नगरपालिका २ बस्ने ३८ बर्षीय राजकुमार राउत, ना २ क २७८ नम्बरका टिपर चालक धनुषाको मिथिला नगरपालिका २ बस्ने ३० बर्षीय गोपाल महतो र भे १ ख २९३९ नम्बरको टिपर चालक महोत्तरीको वर्दिवास नगरपालिका १ बस्ने ३३ बर्षीय रामु महतोलाई प्रहरीले पक्राउ गरी समन्वय समितिलाई जिम्मा लगाएका थिए। एकजना टिपर चालक भने प्रहरी उत्खनन स्थलमै पुग्न लाग्दा फरार भएका थिए ।
गएको पुस २२ गते घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका ओम प्रकाश भन्ने दिलीपकुमार महतोको टिपरले किचेर निर्मम हत्या गरेपछि देशव्यापी रुपमा अवैद्य उत्खनन् रोक्न र पर्यावरण बचाउने माग चलिरहेको छ । प्रशासनले कडाई गरेपछि केही दिनदेखि अवैध उत्खनन् बन्द थियो ।
तर फेरी जनप्रतिनिधि र प्रहरी प्रशासनकै संरक्षणमा धनुषामै उत्खनन सुरु भएको छ ।