काँग्रेसको प्रदेश २ अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै, शीर्ष नेताहरु जनकपुरमा
टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।
सर्लाही जिल्ला र केहि क्षेत्रको पार्टी भित्रको विवादले स्थगित काँग्रेस प्रदेश २ को अधिवेशन आज सुरु हुँदै छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले पुस ६ र ७ गतेका लागि प्रदेश २ को अधिवेशन गर्ने निर्णय अनुसार आज जनकपुरमा अधिवेशन हुन लागेको हो ।
प्रदेश २ को नेतृत्वको लागि जनकपुरको गोपला धर्मशालामा आज निर्वाचनको लागि मनोनयन दर्ता हुन लागेको हो ।
आज मतदाताको नामावली, उम्मदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावाली प्रकाशनलगायतको कार्यक्रम तालिका छ भने भोलि बुधबार मतदानको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
बिहान ११ बजेदेखि मनोनयन दर्ताको तयारी रहेपनि केहि क्षेत्रबाट मतदाता नामावली प्राप्त नभइसकेकाले केहि ढिलो गरी सुरु हुने निर्वाचन अधिकृत प्रह्लाद गौतमले टुडेपाटीलाई बताए ।
Sponsored
झण्डै ७२ सदस्य प्रदेश समितिको लागि प्रतिष्पर्धा हुने जनाएको छ । प्रदेश २ को आठवटै जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट झण्डै २ हजार अधिवेशन प्रतिनिधि भाग लिने छन् ।
प्रति निर्वाचन क्षेत्रबाट ६० जना गरी अधिवेशन प्रतिनिधि गरी १ हजार ९९२ जना र केहि थप गरी झण्डै २ हजार अधिवेशन प्रतिनिधि मतदानमा भाग लिने एक नेताले बताए ।
पार्टी संस्थापन पक्ष र निधि पक्षबाट दुईजना सभापतिका उम्मेदबार चुनावी मैदानमा छन् । संस्थपन पक्ष पार्टी सभापति शेरबहादुर देउवाको मम्मेदबार रौतहट जिल्लाका सभापति कृष्ण यादव र हालै सभापतिमा नराम्ररी पराजय व्यहोरेका पूर्व उपसभापति बिमलेन्द्र निधि पक्षबाट प्रदेश संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदबारी घोषणा गरिसकेका छन् । तर, दुवै पक्षले आफ्नो दावेदारी नछाडेपछि निर्वाचन प्रक्रियामा गएर नेतृत्व छनोट गर्ने काँग्रेसको तयारी छ ।
आ आफ्नो पक्षलाई जिताउन काँग्रेसका शीर्ष नेताहरु जनकपुरमा कसरत गरिरहेका छन् । देउवा पक्षका बर्तमान गृहमन्त्री बालकृष्ण खाँण, चित्रलेखा यादव, रमेश रिजाल, फर्मुला मन्सुर, उमाकान्त चौधरी, महेन्द्र यादव लगायका नेता आइसकेका छन् भने निघि पनि जनकपुरमा आफ्ना उम्मेदबार जिताउन सक्रिय छन् । आज शेखर कोइराला, गगन थापा लगायतका नेताहरु जनकपुर आउन लागेको एक नेताले बताए ।