सिरहामा प्रदर्शनकारीको ढुंगामुढाबाट ९ प्रहरी घाइते, ७ घण्टापछि खुल्यो राजमार्ग
टुडेपाटी
जनकपुरधाम, पुस ५ गते ।
सिरहामा बन्द पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएका छन् ।
छुरा प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा स्थानीयबासिन्दाले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा दिउँसो प्रहरीले बल प्रयोग गरेपछि ढुंगामुढा भएको थियो । जसमा प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रु ग्यास समेत प्रहार गरेका छन् ।
प्रदर्शनकारीको ढुंगामुढाबाट नेपाल प्रहरीका ५ जना र शसस्त्र प्रहरीका ४ जना गरी ९ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले टुडेपाटीलाई जानकारी दिए । उनका अनुसार एकजना प्रदर्शनकारी समेत घाइते भएका छन् ।
स्थानीयबासिन्दाले अवरुद्ध गरेको राजमार्ग ७ घण्टापछि खुलेको छ ।
Sponsored
प्रहरीले आइतबार गरेको सहमति बमोजिम २४ घण्टा भित्र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले सिरहाको गोलबजारमा बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध गरेका थिए । अपराहन्न ४ बजे सडक अवरुद्ध खुलेको डिएसपी बुढाथोकीले बताए ।
शनिबार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ हटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने उनका साथी निकेश सदा गम्भीर घाइते छन्।
छुरा प्रहार घटना विरुद्ध आइतबार बिहानैदेखि स्थानीयहरु राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए । सो क्रममा राजमार्ग खुलाउन स्थानीय र प्रहरीबीच दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारको क्षतिपुर्तिको लागि पहल गर्ने र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति भएको थियो ।
तर, सहमति अनुसार प्रहरीले २४ घण्टा भित्र दोषी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दा पुनः सोमबार १० बजेदेखि सडक अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए । भोलि मंगलबार बिहानसम्म दोषीलाई पक्राउ नगरे पुनः राजमार्ग अवरुद्ध गर्दै प्रदशर्न गर्ने स्थानीय शिवचन्द्र सदाले चेतावनी दिए ।
प्रहरीले छुरा प्रहार गर्ने समूहका दुईजनालाई आइतबार नै पक्राउ गरेको डिएसपी बुढाथोकीले बताए । तर उनले अनुसन्धान भइरहेका भन्दै पक्राउ परेकाको परिचय खुलाउन मानेनन् ।