दिल्लीको जमातबाट फर्किएको आशंकामा सप्तरीका ९ जमाती बाराबाट पक्राउ
टुडेपाटी-
बारा, चैत २३ गते ।
दल्लीस्थित जमातबाट फर्किएको आशंकामा सप्तरीका ९ जनालाई बाराबाट पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–४ बस्ने अन्दाजी ५५ वर्षीय महम्मद जिवरेल, २९ वर्षीय रोजिद शेष, कञ्चनरुप नगरपालिका–९ बस्ने ६४ वर्षीय सफिद मियाँ रहेका छन् ।
त्यसैगरी कञ्चनरुपकै ५२ वर्षीय तजबुल मियाँ, ६४ वर्षीय मोहम्मद सफिज रहमान, ४८ वर्षीय मोहम्मद वकिल मियाँ, १८ वर्षीय मोहम्मद खुर्सेद, ४८ वर्षीय मोहम्मद जाकिर तथा ६३ वर्षीय मोहम्मद इसराइज मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
भारतबाट फर्किंदै गरेका उनीहरुलाई अस्थायी प्रहरी पोष्ट जितपुरको टोलीले दशगजा नजिकैबाट पक्राउ गरेको जनाइएको छ । उनीहरु भारतीय प्रहरीलाई समेत छलेर दशगजासम्म पुगेको बारा प्रहरीले बताए ।
उनीहरुले आफूहरु दिल्लीको धार्मिक सभामा सहभागी नभएको तर, बिहारकै सीतामढी, पूर्वी चम्पारण जिल्लाका विभिन्न मस्जिदसम्म पुगेर फर्केको बताएका छन् ।
यसअघि भारतको दिल्लीमा कोरोना भाइरस फैलाउन सहयोग पुगेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा १९ जना नेपाली सहभागी भएका थिए । त्यहाँबाट फर्किएको आशंकामा यसअघि प्रहरीले बाराबाट ११ जनालाई पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिइएका सबैजनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
Sponsored