TodayPati

प्रदेश २ को मुख्यमन्त्री कार्यालय नै प्रवक्ता र सूचना अधिकारी बिहीन


टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

सुशासन र पारदर्शिता प्रदेश सरकारको उच्च प्राथमिकता भन्ने भाषणबाजी गर्न मुख्यमन्त्री लालबाबु राउत कहिल्यै पछि पर्दैनन्। तर, उनकै कार्यालयमा पारदर्शिता र सुशासनको यो अवस्था कहालिलाग्दो छ ।

प्रदेश २ सरकारकै प्रमुख कार्यालयमा नै प्रवक्ता र सूचना अधिकारी बिहीन बनेको छ । प्रवक्ता र सूचना अधिकारी नहुँदा त्यहाँबाट कुनै प्रकारको सूचना र जानकारी पाउनबाट पत्रकारसहित आम नागरिक बञ्चित हुँदै आएका छन्।

Sponsored

पत्रकार शैलेन्द्र महतो क्रान्ति बिहीबार दिउँसो मुख्यमन्त्री कार्यालयमा सूचनाको हक प्रयोग गर्दै समाचार प्रयोजनको लागि विभिन्न शीर्षकको सूचना लिन पुगेका थिए। उनी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेबारी पाएको कार्यालयका सचिव यमप्रसाद भुषाल कहाँ पुग्दा उनले आफू प्रवक्ता तथा सूचनाअघिकारीको जिम्मेबारीबाट मुक्त भइसकेको प्रतिक्रिया दिए।

भुषालले कार्यालयमा हाल प्रवक्ता र सूचना अधिकारीको जिम्मेबारी कसैलाई नतोकिएके बताए। उनले निवेदन लिएर प्रमुख सचिव हरिप्रसाद मैनाली समक्ष नै पुगेर तोक लगाउन सुझाव दिए।

‘म अहिले प्रवक्ता छैन। यो जिम्मेबारीबाट मुक्त भइसकेँ। यहाँ अहिले कोही पनि सूचना अधिकारी छैनन्। तपाइँ प्रमुख सचिव समक्ष पुगेर उहाँबाट निवेदनमा तोक लगाउनुस्,’ सचिव भुषालले भने।

Sponsored

तर, प्रमुख सचिव मैनाली कार्यालयमा थिएनन्। उनी एक मिटिङमा गएको जानकारी त्यहाँका कर्मचारीले दिए। सचिव मैनालीले अहिले भेट्न नसकिने जबाफ आफ्ना कर्मचारीमार्फत् पठाए। ती कर्मचारी मार्फत् नै निवेदन प्रमुख सचिव मैनाली कहाँ पठाएको महतो बताउँछन्।

प्रमुख सचिव मैनालीले सूचना माग निवेदन पढे, तर तोक लगाएनन्। उनले सूचना अधिकारीसँग भेटेर तोक लगाउन भन्दै निवेदन फर्काए । तर कार्यालयका सबैजसो कर्मचारीहरुले कार्यालयमा प्रवक्ता र सूचना अधिकारी नै नतोकिएको बताए।

मैनालीलाई कार्यालयमा सूचना अधिकारी को छन् भन्ने सोध्नको लागि पटक पटक फोन सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *