कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु
टुडेपाटी-
काठमाडौं, मंसिर २४ गते ।
सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार) काठमाडौंमा सुरु हुँदै छ।
नयाँ नेतृत्व चयनका हुने महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा दिउँसो १ बजे हुने छ ।
आजदेखि २७ सम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट कांग्रेसका नेता–कार्यकर्ताहरु संघीय राजधानी काठमाडौं आइपुगिसकेका छन्। यस्तै महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुनाहरु पनि काठमाडौं आइसकेको कांग्रेसले जनाएको छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र मनोनीत महाधिवेशन प्रतिनिधि नेतृत्व चयनका लागि मतदानमा सहभागी हुनेछन्।
कांग्रेसले महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरबाट ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाएको छ।
Sponsored
महाधिवेशनको उद्घाटन समारोहका लागि कांग्रेसले भृकुटीमण्डपलाई दुलही झै सिंगारेको छ।
उद्घाटन समारोह अघि नै निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशित गर्ने तयारी गरेको छ।
महाधिवेशनका लागि शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, ५ देखि ७ बजेसम्म मनोनयन उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णयको समयावधि समितिले निर्धारण गरेको छ।
निर्वाचन समितिले आइतबार मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने जनाएको छ।