रामकलेवा सकेसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर)
टुडेपाटी–
जनकपुरधाम, मंसिर २३ गते ।
सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । बिहिवार रामकलेवा विधि भएसँगै यस वर्ष विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । विवाहपछि मिथिलाञ्चलमा मौहक भन्ने विधि हुन्छ।
मौहकमा बेहुलालाई खीर खुवाउने परम्परा रहेको छ। मौहक अर्थात राम कलेवा विधि समेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको छ।
जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाईले खीर ग्रहण गरे। राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई खीर खुवाइयो।
मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई जिस्काएका थिए ।
मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खीर बेहुलाले सहजै नखाने परम्परा रहेको छ। रामले खीर खान नमानेपछि मिथिला नारीहरु गाउँछन्।
Sponsored
राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोशेली दिएपछि खीर खान शुरु गरेका थिए ।
रघुवर चारै भाईका साथै अयोध्याबाट आएका शाधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरे।
सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो। रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसाद आदि दिएर विदाई गरिएको छ। यससँगै यस वर्षको लागि साताव्यापी महोत्सव विवाहपञ्चमी सम्पन्न भएको छ।
विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगरदर्शन भएको थियो । त्यस्तै दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर छठौँ दिन स्वयंवर तथा शुभविवाह र सातौ दिन रामकलेवा भएको छ ।