विवाहपञ्चमीमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने
टुडेपाटी–
जनकपुरधाम, मंसिर २० गते ।
विवाहपञ्चमी महोत्सवमा सहभागीलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा भिड हुने भएकाले मास्क अनिवार्य गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना महामारी फैलिन नदिन मास्क अनिवार्य गरिएको जानकारी दिए ।
महोत्सवमा सहभागी हुन नेपालको विभिन्न जिल्ला र भारतबाट आएका श्रद्धालुलाई करिव चार लाख मास्क वितरण गर्ने तयारी छ ।
विवाहपञ्चमीको मुख्य दिन भारत र नेपालबाट हजारौंको भिडमा सहभागी हुन आउने भन्दै संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ । नेपाल र भारतमा कारोना भाइरसको नयाँ भेरियन्टसमेत फेला परेको हुनाले सचेतना अपनाइएको उनको भनाइ छ ।
मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुरधाम प्रवेश गर्ने ठाउँ ठाउँमा सुरक्षाकर्मीले मास्क उपलब्ध गराउने प्रजिअ बास्तोलाले भने ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने उनको भनाइ छ ।
Sponsored
विवाहपञ्चमीको अवसरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बाहिर जिल्लाबाट १५ सय सुरक्षाकर्मी मगाएको र धनुषामै रहेका करिब १२ सय सुरक्षकर्मी पनि परिचालित छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी गरी करिव तीन हजार प्रहरी परिचालन भएको प्रजिअ बास्तोलाले भने ।