काँग्रेस महोत्तरी क्षेत्र नं. ३ को निर्वाचन बदर
टुडेपाटी–
काठमाडौँ, मंसिर १९ गते ।
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा वितरण गरिएको प्रमाणपत्र रद्द गरेको छ। क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधिहरूलाई अवैधानिक तरिकाले प्रमाणपत्र वितरण गरिएको भन्दै समितिले वितरण भएका प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले यसअघि वितरण गरिएको सबै प्रमाणपत्रहरूलाई रद्द गरी क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशन दिइएको जानकारी दिए ।
जिल्ला निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीले समितिमा प्रस्तुत गरेको प्रतिवेदनलाई मध्यनजर गरी महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको उनले बताए ।
‘निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीबाट समितिमा प्रस्तुत प्रतिवेदनलाई मध्यनजर गरी निर्णयतर्फ विचार गर्दा महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि साथै महासमिति सदस्यको निर्वाचन भएको नदेखिएकोले सो क्षेत्रका क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्ने र उक्त पदहरूका अवैधानिक रूपमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरू रद्द गरिएको छ,’ सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका मतदान अधिकृत धिरेन्द्र मण्डलले आफूलाई अपहरण गरी जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गराउन लगाइएको भन्दै मान्यता नदिन जिल्ला निर्वाचन समितिसँग आग्रह गरेका थिए।
Sponsored