काँग्रेसको प्रदेश २ को अधिवेशन अन्योलमा, महाधिवेशनपछि सर्न सक्ने सम्भावना
टुडेपाटी-
जनकपुरधाम, मंसिर १९ गते ।
जिल्लाहरुमा पार्टी विवावदै विवादको कारण मतदाता नामावली प्राप्त नहुँदा नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन नै स्थगित हुने सम्भावना बढेको छ। आठ वटै जिल्लाको मतदाता नमावली आउन नसकेपछि निर्वाचन प्रक्रिया नै सुरु हुन सकेको छैन ।
उद्घाटन शत्र भएको तीनदिन भइसकेको छ । तर, सर्लाहीको चारवटै निर्वाच क्षेत्र, महोत्तरीको क्षेत्र नं. ३, सप्तरी क्षेत्र नं. ४ लगायतमा विवाद कायमै छ ।
सर्लाहीको १० वटा वडामा समेत अधिवेशन हुन सकेको छैन । जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश २ का संयोजक रमेश रिजालले जानकारी दिए ।
‘निर्वाचन तालिका अनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्ने थियो तर हुन सकेन,’ रिजालले भने, ‘मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, सम्भावना पनि न्यून नै लागिरहेको छ। आज १ बजेसम्म मतदाता नामावली केन्द्रबाट पठाउने भनिएको छ। नामावली आयो भने निर्वाचन प्रक्रिया अगाडि बढाउने प्रयास गर्छौं, नआए छलफल गरेर के गर्ने विषयमा निर्णय गर्ने छौं।’
मतदाताको नामावली आउन नसकेकै कारण मनोनयनपत्र दर्ता गर्ने कार्य स्थगित गर्नुपरेको प्रदेश २ का रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जानकारी दिए। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनौट सम्पन्न भए पनि नामावली प्राप्त हुन नसकेको यादवले जनाए।
Sponsored
आज निर्वाचन प्रक्रिया अगाडि बढ्न नसके महाधिवेशन पछि नै प्रदेश २ को अधिवेशन गर्ने तयारी समेत गरिएको छ।