प्रदेश २ मा ३०१ जना ‘एड्स’ संक्रमित सम्पर्कविहीन
टुडेपाटी-
जनकपुरधाम, मंसिर १६ गते ।
प्रदेश २ मा ३०१ जना एचआईभी(एड्स)संक्रमित सम्पर्कमा नरहेको रहस्य खुलेको कछ । पदेश २ मा हाल ४ हजार ३८० संक्रमित रहेकोमा ३०१ जना सम्पर्कविहीन रहेका छन् ।
जसको कारण उनीहरु उपचार सेवाबाट वञ्चित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम कोअर्डिनेटर चन्द्रनारायण साहले गत असार मसान्तसम्मको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ९९८ जना नियमित उपचारमा रहेको जानकारी दिए । एक हजार ३८२ जना भने उपचारबाट वञ्चित मिसिङ्ग लिस्टमा रहेको उनको भनाइ छ ।
उपचारबाट वञ्चित मिसिङ्ग लिस्टमा रहेका एक हजार ३८२ जना मध्ये ६ सय ७२ जनाले अन्य प्रदेशमा औषधि लिइरहेको र ३९७ जनाको मृत्यु भइसकेको उनको भनाइ छ । ३०१ जना भने सम्पर्कविहीन रहेको उनले बताए ।
उनका अनुसार सम्पर्कविहीनमध्ये २३ जनाको अवस्था पूर्ण रुपमा अज्ञात छ भने २७८ जना उपचारका लागि नाम दर्ता गराएपछि सम्पर्कमा आएका छैनन् । प्रदेशमा कुल संक्रमितमध्ये १७५ जना बालबालिका रहेको पनि उनले जनाए ।
Sponsored
साहले पछिल्लो समय चेकजाँचको दायरा बढदै गएपछि संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएको बताए । उनका अनुसार विगत तीन वर्षमा संक्रमितको संख्या दोब्बरभन्दा बढी वृद्धि भएको छ ।
प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५र०७६ मा कुल ५ हजार ६९० चेकजाँचमा २२६ पोजेटिभ केश भेटिएका थिए भने ०७६र७७ मा १४ हजार ६०२ चेकजाँचमा ४०० र आर्थिक वर्ष ०७७र०७८ मा २५ हजार ९७८ चेकजाँचमा ४ सय ७५ जना संक्रमित फेला परेको साहले बताए ।