एमालेको नेतृत्व चयनको लागि मतदान जारी, चाँडै परिणाम आउने
टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।
नेकपा एमालेको चितवनमा दसौं महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
बिहान ४ बजेदेखि जारी मतदान अन्तिम चरणमा पुगेकाे छ।
अब आधा घण्टाजतिमा मतदान सम्पन्न हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। ।
उनका अनुसार मतदान सकिएको एक घण्टाभित्र नतिजा आउनेछ।
पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका उम्मेदवार प्रतिस्पर्धामा छन्।
Sponsored
एमालेका साविक अध्यक्ष केपी शर्मा ओलीले ‘सर्वसम्मत’ नेतृत्व चयन गर्न भन्दै आइतबार मध्यराति बन्दसत्रमा केन्द्रीय समिति र पदाधिकारीको सूची सार्वजनिक गरे। र, आफैंले नाम पढेर हतारहतार हलबाट अनुमोदन गराए।
तर उनकाे त्याे सर्वसम्मत प्रयास आफ्नै लागि लागू हुन सकेन। किनकि उनलाई चुनौती दिँदै साविक उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिए।
त्यसपछि सोमबार बिहान बाध्य भएर निर्वाचन प्रक्रिया सुरु गरिएको हो।
यस क्रममा पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव (तीन) निर्विरोध निर्वाचित भए। किनकि यसमा क्रमशः ईश्वर पोखरेल, शंकर पोखरेल तथा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालबाहेक अरूको उम्मेदवारी परेन।
तर अध्यक्ष, सचिव, उपाध्यक्ष तथा केही क्लस्टरका केन्द्रीय सदस्य पदका लागि पनि निर्धारित नामभन्दा बढीले उम्मेदवारी दिएपछि चुनाव गर्नुपरेको हो।
पदाधिकारीतर्फ एक अध्यक्षका लागि दुई, ६ उपाध्यक्षका लागि लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेका छन्।
जसअनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङ तथा सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार हुन्।