TodayPati

प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ तय हुने सम्भावना, नाममा अझै आशंका

टुडेपाटी-
जनकपुरधाम, मंसिर १२ गते ।

अब बस्ने प्रदेशसभा बैठकले प्रदेश २ सभाको स्थायी नाम र राजधानी टुंगो लाग्ने सम्भावना बढेको छ । अगामी मंसिर २९ गतेलाई आव्हान गरिएको अधिबेशनकोमा प्रदेश २ कोे स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेश सरकारले पेस गर्ने तयारी गरेको छ । यस बिषयमा पुनः बहस र छलफल शुरु भएको छ ।

प्रदेशको नाम र राजधानी बिषयमा प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रदेश २ सभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलसँगे ठोस दुई तिहाई बहुमत नहुदाँ दलिय सहमतिकै आधारमा राजधानी र नामाकरण बिषय टुङ्गो लगाउनुपर्ने बाध्यात्मक अवस्था छ ।

Sponsored

प्रदेशको राजधानी जनकपुरलाई नै कायम गर्नुपर्ने पक्षमा प्रायः सबै दलका सांंसदहरु एकमत देखिएपनि प्रदेश नामाकरणको बिषयमा सबै दलको आ–आफ्नै अडान छ । त्यसैले प्रदेशको राजधानीको बिषय प्रदेशसभाबाट पारित हुने सम्भावना रहेपनि प्रदेश नामाकारणको बिषय टुङ्गयाउन सहज नरहेको जानकारहरु बताउँछन् ।

‘‘प्रदेशको राजधानी जनकपुर नै राख्नेमा करिब करिब सबै प्रदेशसभा सदस्यहरुको एकमत नै रहेको देखिन्छ”, जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले भने ,‘‘ त्यसैले अबको प्रदेशसभाको बैठकबाट प्रदेशको राजधानी टुङ्गो लाग्ने सम्भावना छ ।” राजधानीको बिषयमा केही दुई तीन जना साँसद बाहेक सबै राजधानी जनकपुरमै राख्न सहमत रहेको उनको भनाई छ ।

यसअघि गत २०७७ चैत्र ५ गते प्रदेश २ को राजधानी र नामाकरणको बिषयमा प्रदेशसभामा भएको मतदान भएको थियो । त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने बिषयमा सहमति नजिक पुगेका राजनीति दलहरुबीच नामांकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुबै बिषय टुङ्गियाउने भन्दै मतदान गरेका थिए ।

Sponsored

त्यतिखेर दुई तिहाई बहुमत नपुगेपछि राजधानी र नामाकारणको प्रस्ताव समेत पारित हुन असफल भएको थियो । ‘‘उतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने बिषयमा सबै दलबीच सहमति भएको थियो”, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले भने ‘‘तर सभामुखले कार्यतालिकामा हेरफेर गरेकाले प्रदेशको नामाकरणसँगै राजधानीको प्रस्ताव समेत असफल भयो ।”

‘‘दलहरुबीच सहमति भईसकेकाले पहिला राजधानी सम्बन्धि प्रस्तावलाई पेश गर्ने र पछि नामाकरणको प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिकामा सहमति भएको थियो” मन्त्री साहले भन्नुभयो,‘‘तर सभामुखले त्यसको उल्टो पहिला नामाकरणको प्रस्ताव प्रस्तुत गर्नुभयो, दोश्रोमा राजधानीको प्रस्ताव पेश गर्नुभयो ।” जसका कारण नत नामाकरणको बिषय टुङ्गियो नत राजधानी नै उनको भनाई थियो ।

अब बस्ने प्रदेशसभाको बैठकबाट प्रदेशको राजधानी बारे टुङ्गो लाग्ने सम्भावना रहेको नेकपा (एकिकृत समाजवादी) का प्रदेशसभा सदस्य गोबिन्द बहादुर न्यौपानेको विश्वास छ ।

‘‘सुरुमा वीरगञ्जमा राजधानी माग गर्दै आन्दोलन भएपनि अहिले जनकपुर नै कायम राख्नुपर्नेमा प्रदेशका अधिकांश जिल्लाबासीहरुको भावना छ”, न्यौपानेले भने ‘‘ शुरुमा कसैले जनकपुरलाई मात्र राजधानी बनाउनुपर्ने, कतिपयले ढल्केबर सम्मलाई राजधानी बनाउनुपर्ने त कतिपयले बिरगञ्जलाई राजधानी बनाउनुपर्ने भनिरहेका थिए ।” तर अहिले जनकपुर राख्ने बिषयमा खासै कसैले बिरोध नरहेकाले जनकपुरनै राजधानी हुने प्रस्ताब पारित हुने उहाँको दाबी छ ।

धार्मीक, सांस्कृतिक, पौराणीक, भौगोलीक तथा भौतिक संरचनाका हिसावले प्रदेशको राजधानी ‘जनकपुर’ उपयुक्त हुने हुनेमा अधिकांश दल एकमत देखिएकाले राजधानीको बिषय टुङ्गो लाग्ने धेरैको विश्वास छ ।

राजधानीको प्रस्ताब पारित हुनेमा विश्वस्त रहेका दलका नेता तथा प्रदेशसभा सदस्यहरु प्रदेश नामाकरणको बिषय पारित हुनेमा भने सशंकित छन् । प्रदेश २ मा जसपा, नेपाली काँग्रेस, नेकपा (एकिकृत समाजवादी ) र नेकपा माओवादी केन्द्रको चार दलिय गठबन्धनको सरकार छ । तर प्रदेश राजधानीको बिषयमा गठबन्धभित्र एकमत देखिएपनि नामाकरणको बिषयमा भने फरक मत छन् । जसका कारण ठोस सहमति नभएसम्म नामाकरणको बिषय टुङ्गो लाग्ने सम्भावना नरहेको जानकारहरुको भनाई छ ।

१०७ सदस्यीय प्रदेश २ सभामा अहिले जसपाका ३९, नेपाली काँग्रेसको १९, लोकतान्त्रिक समाजवादीका १६, नेकपा (एकिकृत समाजवादी ) का १३, नेकपा एमालेका ८ र नेकपा माओवादी केन्द्रका ७ जना प्रदेश सांसद छन् । प्रदेश २ मा चार दलिय गठबन्धसँग ७८ जना प्रदेशसभा सदस्यहरु छन् ।

‘‘गठबन्धनसँग प्रदेश २ सभामा रहेको त्यो संख्या प्रस्ताव पारित गर्न दुई तिहाई पुग्छ”, राजनीतिक बिश्लेषक तथा प्राध्यापक देवनारायण यादवले भने,‘‘ तर गठबन्धन दलहरुभित्रै प्रदेशको नामका बिषयमा फरक फरक धारणा र प्रस्ताव छन् ।” यस्तो अवस्थामा नामाकरणको प्रस्ताव पारित हुने सम्भावना कमजोर रहेको यादवको कथन छ ।


प्रदेश २ को नामका बिषयमा सबै दलको आ–आफ्नै अडान रहेकाले दलिय सहमति नभएसम्म नामाकरणको बिषय टुङ्गिन गाह्रो रहेको बिश्लेषक यादवले बताए ।

मधेश पृष्ठभुमिका जसपा र लोसपा प्रदेशको नाम मधेस राख्ने पक्षमा देखिएका छन् भने प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ दल नेपाली काँग्रेस ‘मधेस’ नाम कुनै हालतमा स्वीकार नगर्ने अडानमा छन् ।

नेकपा माओवादी केन्द्र प्रदेशको नाम मधेश राख्ने बिषयमा लचिलो रहेपनि सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एस) मधेश प्रदेशको पक्षमा नरहेको जसपाका प्रदेश सांसद रामअशिष यादवको भनाई छ ।

नेकपा एमाले मिथिला या जनक तथा काँग्रेसले मिथिला या मिथिला–भोजपुरा प्रदेश नाम राख्नुपर्ने बताउँदै आएको छ भने नेकपा (एस) ले सबैको भावनालाई सम्बोधन हुने गरी नामाकरण गर्नुपर्ने अडानमा छन् ।

जसपा र लोसपाका प्रदेशसभा सदस्यहरुले प्रदेश २ को नाम मध्य–मधेश वा मधेश राख्नुपर्ने बताइरहदाँ अन्य दलका नेताहरुले प्रदेशको नाम राजर्षी जनक, जानकी, तथा मिथिला–भोजपुरा प्रदेश राख्दाँ उपयुक्त हुने बताइरहेका छन् ।

यसरी दलका नेताहरुको मत बिभाजित हुदाँ प्रदेशसभा गठन भएको २ बर्षमा भएपनि प्रदेशको नाम र राजधानी पाउने जनताको विश्वासमाथि कुठाराघात भएकाले तत्काल दलिय सहमति कायम गरेर दुबै बिषय टुङ्गयाउनुपर्ने बुद्धिजीवीहरुको सुझाब छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *