प्रदेश २ मा कोरोनाको सक्रिय संक्रमितको संख्या ७० भन्दा कम
टुडेपाटी–
जनकपुरधाम, मंसिर ११ गते ।
प्रदेश २ को आठमध्ये सात जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या १० भन्दा कम भएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार प्रदेशमा कुल कोरोनाको सक्रिय संक्रमित ६३ जना रहेकोमा ७ वटा जिल्लामा १० वा सो भन्दा कम रहेका छन् ।
कोरोनाको सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी महोत्तरीमा रहेका छन् । महोत्तरीमा २१ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए ।
त्यस्तै धनुषामा कोरोनाको १० जना सक्रिय संक्रमित रहेका छन् । सिरहामा ८, रौतहटमा ७, बारामा ५, पर्सामा ५, सप्तरीमा ४, र सर्लाहीमा ३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये ६१ जना होम आइसोलेशनमा र २ जना सामान्य उपचारको क्रममा रहेको निर्देशक झाले जानकारी दिएका छन् ।
प्रदेशमा हालसम्म ३८ हजार ५ सय ३६ जनालाई कोरोना संक्रमण भएकोमा ३७ हजार ४ सय ३३ जना उपचार पश्चात निको भएको तथा १ हजार ४० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Sponsored