सर्लाहीमा काँग्रेसको वडा अधिवेशन आइतबार हुने
टुडेपाटी–
सर्लाही, मंसिर ११ गते ।
सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशन आइतबारका लागि तोकिएको छ । पार्टीको दुबै पक्षबीच शुक्रबार अबेर रातिसम्म चलेको छलफलले आइतबारका लागि वडा अधिवेशनको मिति तोकेको हो ।
सर्लाहीको निर्वाचन अधिकृतको रुपमा आएका अधिक्ता भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच छलफल चलेको थियो ।
शुक्रवार दिउँसोदेखि राति पौने १० बजेसम्म चलेको छलफलले यस्तो सहमति गरेको हो । काँग्रेस सर्लाहीमा संस्थापन पक्ष र संस्थापनइतरबीच यो तेस्रोपटक सहमति भएको हो ।
दुवै पक्षबीच भएको छलफलबाट मंसिर १२ गतेमा वडा अधिवेशन, प्रदेशस्तरीय अधिवेशन सरेमा १४ गते पालिका अधिवेशन र प्रदेश अधिवेशन नसरेमा सोही दिन पालिकास्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभास्तरीय अधिवेशन गर्ने सहमति भएको छ ।
निर्वाचन अधिकृत राउतले छलफलले १५ गते क्षेत्रीय अधिवेशन र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्नेसमेत सहमति गरेको जानकारी दिए । मतदान अधिकृतको रूपमा खटिने शिक्षकहरूलाई शनिबार तालिम दिने तथा निर्वाचन सामग्री उपलब्ध गराइने निर्वाचन अधिकृत राउतले जानकारी दिए ।
Sponsored
शुक्रबार भएको वार्तामा जिल्ला सभापति नागेन्द्रकुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगीलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, रुपेशकुमार यादवलगायत सहभागी थिए ।
पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवलि राय, जिल्ला सचिव नवीन अधिकारी, पूर्वजिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष कौशलकिशोर राय, युवा नेता बलीराम झा, रविनन्दन चौधरीलगायत सहभागी थिए ।
जिल्ला सभापति राय केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष अर्थात् संस्थापन र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संस्थापनइतर पक्षका हुन् । यी दुई समूहको विवादको कारण जिल्लामा काँग्रेसको पटक–पटक जिल्ला अधिवेशन अन्योलमा पर्दै आएको थियो ।