काँग्रेसको महाधिवेशन पछि मात्र पर्सामा जिल्ला अधिवेशन हुने
टुडेपाटी–
पर्सा, मंसिर ९ गते ।
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनपछि मात्र पर्सामा जिल्ला र पालिका अधिवेशन हुने भएको छ ।
१२ र १३ औँ महाधिवेशनमा समेत केन्द्रिय महाधिवेशन पश्चात मात्र जिल्लामामा अधिवेशन भएकोमा यस पटक समेत केन्द्रिय महाधिवेशन पश्चात हुने भएको छ ।
पर्सामा नेताहरुको असक्षमता र गुटबाजीका कारण पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको हो ।
वडा अधिवेशन तोकिएको मितिमा नभई ढिलो गरिने भएकोले अब समय अभावले पालिका र जिल्ला अधिवेशन पछि गर्ने सहमति भएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए ।
अहिले नै पालिका अधिवेशन गर्दा त्यसमा समय लाग्ने भएकोले त्यसका कारण प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र गर्न नसकिंने भन्दै सचिव पटेलले भने, ‘यदि प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन भएन भने प्रदेश अधिवेशन र महाधिवेशनमा भाग लिनबाट पर्सा जिल्ला वञ्चित हुन्छ । त्यसैले पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै गर्ने सहमति जिल्लाका नेताबीच भएको छ ।’
Sponsored
अहिले पालिका र जिल्ला अधिवेशन नगरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन गर्ने तयारी भइरहेको जानकारी पनि पटेलले दिए। पटेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन सम्भवत मंसिर ११ वा १२ गतेको मितिमा तोकिने बताए ।
पर्सा जिल्लामा कुल १ सय १२ वटा वडा रहेकोमा अहिलेसम्म कांग्रेसको १११ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी रहेको छिपहरमाइ गाँउपालिका वडा नम्बर १ को वडा अधिवेशनको विषयलाई लिएर अदालतमा मुद्धा परेकाले उक्त वडाको अधिवेशन पनि तत्काल हुने सम्भावना नदेखिएको उनले बताए ।