जसपा सांसद प्रदीप यादव केन्द्रीय सदस्यबाट बर्खास्त
टुडेपाटी–
जनकपुरधाम, मंसिर ९ गते ।
जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ ।
संघीय राजधानी काठमाडौँमा बुधबार सम्पन्न केन्द्रीय कार्यकारणी समितिको बैठकमा यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए । अध्यक्ष उपेन्द्र यादवविरूद्ध प्रदर्शन गरेको आरोपमा उनलाई कारबाही गरिएको हो ।
मन्त्री बन्न नपाएपछि यादवको निर्देशनमा उनी निकट नेता कार्यकर्ताहरूले विरगञ्जदेखि काठमाण्डौँसम्म अध्यक्ष यादवविरुद्ध विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनपश्चात् पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणमा अध्यक्ष यादवविरूद्धको प्रदर्शनमा आफ्नो संलग्नता नरेको जवाफ दिए पनि अनुशासन समितिले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रस्ताव गरेको थियो ।
अनुसाशन समितिले ६ महिनाका लागि साधारण सदस्य नरहने गरी गरेको कारबाही सिफारिस गरेकोमा कार्यकारिणी समितिको बैठकले साधारण सदस्यसमेतबाट हटाएमा सांसद पद पनि जाने भएकाले केन्द्रीय सदस्यबाट मात्र हटाउने निर्णय गरेको सचिव अधिकारीले बताए ।
Sponsored