प्रदेश २ का युवक सोलुखुम्बुमा जिते काँग्रेस महाधिवेशन प्रतिनिधि
टुडेपाटी–
काठमाडौँ, मंसिर ९ गते ।
हिमाली क्षेत्रको सोलुखुम्बु जिल्लामा मधेसी मुलका युवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सुलुखुम्बु जिल्लामा काँग्रेसका महाधिवेशन प्रतिनिधिमा मधेशी मुलका अशोक झा निर्वाचित भएका हुन् ।
झा हिमाली जिल्लाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका एकलो हुन् । उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । २०३८ तिर झाको परिवार सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु गएका थिए ।
अशोकका बुवा शिक्षक पेसाका कारण सोलुखुम्बु पुगेका थिए । अहिले पनि अशोकको घर सोलुखुम्बु र सप्तरीमा दुबै ठाउँमा छ ।
१५ वर्षअघि काँग्रेसको क्रियाशील सदस्य भएका झा १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि भएका थिए । सोलुखुम्बु जिल्लामै एक मात्र झा परिवार भएपनि काँग्रेस राजनीतिमा अशोकलाई पछाडि फर्किनु परेन ।
नेपाल तरुण दल सोलुखुम्बुको क्षेत्रीय सदस्यबाट उनी जिल्ला उपाध्यक्ष हुँदै जिल्ला सभापतिसम्म हुन सफल भए । उनी अहिले पनि तरुण दल सोलुखुम्बुका अध्यक्ष छन् ।
Sponsored