तेस्रो मुलुकका नागरिक रेलबाट नेपाल हुँदै भारत जान नपाउने
टुडेपाटी–
काठमाडौं, मंसिर ४ गते ।
रेलबाट तेस्रो देशका नागरिकहरु नेपाल हुँदै भारत जान नपाउने भएका छन् । भारतीय अधिकारीहरुले सुरक्षा जोखिमलाई देखेपछि नेपालको रेल कुर्था–जयनगर रेलमा तेस्रो देशका नागरिकलाई चढ्न अनुमति नदिने जनाएको हो ।
विभागका महानिर्देशक दीपककुमार भट्टराईले दुई मुलुकबीच रेल संचालन गर्नेबारे भएको स्ट्यान्डर्ड अप्रेटिङ प्रोसेडियूर (एसपीए) सम्झौतामा समेत यस्तो व्यवस्था गरिएको जनाएका छन् ।
गत महिना दिल्लीमा नेपाल र भारतले एसपीए सम्झौतामा हस्ताक्षर गरेका थिए । अक्टोबर २२ मा भारतले नेपाललाई ३४.९ किलोमिटर लामो कुर्था–जयनगरको रेलवे पूर्वाधार खण्ड हस्तान्तरण गरेको थियो ।
भारतले सुरुमै तेस्रो देशका नागरिकलाई रेलसेवा लिन पूर्णतः प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेको थियो । सुरुमा नेपालले भारतको यस्तो प्रस्ताव अस्वीकार गरेपनि पछि नेपालभित्र तेस्रो देशका नागरिकले रेल चढ्न पाउने भएपनि भारत जानलाई रोक्ने सहमती भएको थियो ।
भारतको सीमा सुरक्षा चासोकै कारण उक्त चर्चित एसपीए सम्झौतामा हस्ताक्षर हुन ढिलाइ भएको थियो । एसपीए सम्झौतामा हस्ताक्षर भएपनि कहिलेदेखि रेलसेवा पुनःसंचालनमा आउँछ र नेपालले कहिलेदेखि रेल कानून लागू गराउँछ भन्ने यकिन छैन ।
Sponsored
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवकुमार शर्माले मन्त्रालयले रेलवे बारेको अध्यादेशको खाका मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको बताए ।
रेल सञ्चालन हुन नसक्दा नेपाल सरकारले खरिद गरेको दुईसेट रेल अहिले धनुषाको इनर्वा स्टेशनमा एक वर्षभन्दा बढी समयदेखि राखिएको छ ।