बलात्कारीलाई नपुंसक बनाउने दफा हटाइयो
एजेन्सी–
काठमाडौँ, मंसिर ४ गते ।
बुधबार पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा पाकिस्तानको संसदले हटाइएको छ ।
कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी हुन् ।
बोखारीकी अनुसार इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर(इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक पारित हुनुपूर्व नै सम्बन्धित दफा हटाइएको छ ।
शुक्रवार इस्लामावादमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै बोखारीले ‘संविधानको धारा २२७ ले समेत हरेक कानुन शरिया र पवित्र कुरानअनुसार हुनुपर्ने प्रत्याभूत गरेकोले इस्लामिक मूल्य–मान्यताविपरीत हुने कुनै पनि कानुन पारित गर्न नसकिने बताइन् ।
यसअघि अन्तर्राष्ट्रिय समाचार माध्यमले पाकिस्तानमा बलात्कारीलाई औषधि दिएर आजीवन नपुंसक बनाउने विधेयक पारित भएको जनाएका थिए ।
Sponsored