TodayPati

युवाले नै रोक्न सक्छन् कोरोना ! (बिचार)

रश्मी महतो


चीनको वुहानदेखी विश्वको शक्तिशाली देश अमेरिका, इटली, स्पेनजस्ता देशलाई लासको थुप्रो देखाउन्ने कोरोना (कोभिड–१९) कुनै साधारण भाइरस होइन् । सहजै यकिन गर्न सकिन्छ, त्यस्ता विकसित देशको हालत त्यस्तो छ नाजुक छ भने नेपालजस्तो विकासोन्मुख देशले के गर्न सक्ला ?

वर्तमान परिस्थती, तयारी र घोषणा कार्यन्वयन चरणको पाटो हेर्दा नेपाल सरकारको मुख ताकेर बस्नु भनेको अज्ञानता नै होला । जनताले भोगेका पीडा र काम गर्ने सरकारको शैलीले जनमानसमा निराशापन पनि छर्लङ नै छन् ।
भ्रस्टाचारको मदिराको नाशामा लिप्त भएका ती कुर्सीप्रेमीहरु यस्तो विपदको बेलामा पनि नेपाल आमाप्रतिको आफ्नो दायित्व बोध गर्नु त परै जाओस सामथ्र्य देखाउने प्रयास समेत गरेको देखिदैनन् ।
महामारी फैलनुभन्दा अगाडि सबै युवाहरु छरिएका थिए । तर दुई साताअघिदेखि नै स्वदेश फर्किरहेका युवाको लहरलाई समेत नकार्न सकिन्न । अर्थात् वर्तमान अवस्थाअनुसार देशको आधाभन्दा बढी जनसंख्या युवाहरुकै छ । ती युवा जो हिजोका कर्णाधार कहलाउँथे तर आजका नियम भक्षक । हो शब्द तपाईँले सही नै सुन्नु भएको रहेछ ।

Sponsored

शिक्षित भएर पनि सरकारले जारी गरेको लकडाउनको नियम पालन नगर्नु भनेको नियम भक्षक होइन र ? हातमा मोटरसाइकलको साँचो पाउनेबित्तिकै बाहिर एक फ्यानको घुमेर आउने व्यक्ति वृद्धवृद्दा र बालबालिका होइनन् । यसो बेलुका भयो भनेर मुड फ्रेस गर्न एकछिन चौरतिर र चौतारीतिर साथीसँग जमघट गर्ने हामी युवाहरु नै हौँ, होइन र ? यसो भन्नुपर्दा सबभन्दा बढी मात्रामा लकडाउनका अवज्ञा युवाहरूले नै गरेको पाइन्छ ।

अहिले हामी केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा निर्भर छौँ । केन्द्रिय सरकार्को राजनीति बुझ्नै गार्हो छ भने प्रदेश र स्थानीय सरकार केन्द्रिय सरकारको निर्देशनको पर्खाइमा हुन्छन् । जे भए पनि आफुले सक्दो गरिरहेकै छन् ।

घरभाडा मिनाहा ,खाद्यान्न आपूर्तिदेखि लिएर देश र विदेशमा भएका नेपाली नागरिकलाई सान्त्वना दिने कार्य त केन्द्रिय सरकारले गरेकै छन् भने स्थानीय सरकारले पनि औषधि छर्ने, कालोबजारी अन्त्य गर्ने, राहत वितरण गर्ने काम त गरेकै छन् क्यारे ।

Sponsored

तर कुनै कार्य द्रुत गतिमा देखिन्न । लकडाउनको पुर्ण रुपमा पालन गराउन नसक्ने स्थानीय सरकारमाथी भर पर्नु पनि व्यर्थ नै हो जस्तो लाग्छ ।

जसरी पनि हामी कोरोनाको चपेटामै छौँ । यदि यहि प्रक्रिया चलिरहने हो भने हाम्रो नयाँ वर्षको सुरुवात खुशी र उमङ्गले होइन, लासको पहाडले हुन्छ । यो ख्याल ठट्टामा मात्र नलिउँ, मनन गरौँ ।
युवाहरू भनेको देशको स्तम्भ हो । त्यो स्तम्भ जसको बिना देश उकाले चढ्न सक्छ भने भत्किन पनि समय नलाग्ला ।

नियम रक्षक मात्रै नबनेर देशको रक्षा गर्ने यो एकदमै सहि मौका पनि हो र आवश्यकता पनि । विश्व सङ्कट्मा परेको बेला देशलाई र समाजलाई नयाँ बाटोमा डोर्याउनु हाम्रो ठूलो दायित्व हो । हामी एउटा परिवारबाट नै सुरु गरौँ ।

घरमा भएका वृद्धवृद्वाको नयाँ सोच,बुवाआमाको सान्त्वना र भाइबहिनीको निडरता बन्न सक्नु नै हामी शिक्षित युवाहरुको जीत हो । त्यसपछि समाजतिर लागौँ सशहर बजारमा लकडाउनको पालना केही हदसम्म भएपनी गाउँघरतिर चरम लापरबाही गरेको पाइन्छ तर त्यही गाउँमा दशजना युवाहरु मिलेर कोरोनाविरुद्वको अभियान चलाउने हो भने प्रहरीलाई दिनभरी लठ्ठी लिएर सबलाई दौडाउनुपर्ने अवस्था सिर्जना हुँदैन ।

तिनीहरूलाई गाउँको हरेक व्यक्तिको बारेमा थाहा हुन्छ, त्यही परिवेशको भएर मान्छेमा जनचेतना जगाउन सजिलो हुन्छ । गाउँमा को आए ? को गए ? को कहाँ के गर्दैछन् ? र लकडाउनको बेला गाउँभित्र आवतजावतमै रोक लगाउने । अ

हिलेको परिस्थितिमा यी सबै कुराको निगरानी गर्नु अतिआवश्यक छ । जुन कुरा गाउँकै प्रतिनिधिले गर्दा उत्तम र सहज हुन्छ । गाउँको हाटबजार व्यवस्थापन ,लकडाउनको बेला गाउँमा पर्न गएको अप्ठ्यारोलाई माथीसम्म पुर्याउने जिम्मेवारीदेखि लिएर टोल र समाजको सरसफाइसम्म युवाहरुले ध्यान दिने हो भने हामीलाई कोरोनाले छुन पनि सक्दैन होला ।

त्यसैगरी सबै गाउँलेको स्वास्थ्यमा उच्च सतर्कता अपनाउने, विदेशबाट आएकालाई विषेश निगरानीमा राख्ने जस्ता कुराहरुमा पनि स्थानिय सरकारभन्दा पनि गाउँका युवाहरु आफैं चनाखो हुनुपर्छ । गाउँमै जान्ने युवाहरु छन् भने मास्क बनाउनेजस्ता सिर्जनशील कार्यतीर लाग्दा दोहोरो फाइदा पनि हुन्छ । सबै गाउँमा त्यस्ता दशजना युवा अभियन्ता भइदिए त कोरोना भाइरसमाथि धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ होला ।
स्थानीय सरकारले १५ वा २० शैयाको क्वारेन्टाइन बनाउलान् तर त्यहाँ तपाईंको हेरचाह गर्ने डाक्टर र नर्स हुन नसक्ला ।

किनभने उनीहरु पनि अभाव र कर्तव्यका बीचमा पिल्सिरहेका छन् । तपाईं त्यही शैयामा सास फेर्न नपाएर जीवन र मृत्युको बिचमा लडिरहनुहुनेछ तर त्यहाँ तपाईंका आफन्त हुदैनन् ।

केन्द्रिय सरकारले सीमानाका बन्द गरेर कयौं नेपालीलाई सीमामा अलपत्र हुन बाध्य बनाए भने कति सङ्क्रमित नेपालीलाई नेपाल भित्र्याए जसको तथ्यांक छैन।अलपत्र परेकाहरु सीमामै आन्दोलित छन् भने नेपाल भित्रेकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्ने नेपाल सरकारको क्षमता छैन ।

अझ पनि नेपाल सरकारबाट केही आशा राख्नु भनेको उपलब्धि स्वरुपा निराशापन नै प्राप्त गर्नु हो । त्यसैले सबै युवाहरु एकजुट भएर आफ्नो गाउँसमाजको रेखदेख गर्नु निकै जरुरी छ ।

यदि केही गर्न नसके, घरमै बसेर युवाको राम्रो पहिचान गरिदिनुहोला । त्यसरी नै सबै गाउँ निगरानीमा भयो भने एउटा पुर्ण देश निगरानीमा हुन्छ र सायद युवाहरूले एउटा इतिहास पनि कायम गर्न सक्नेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *