जनकपुरमा खानेपानीका हाकिमलाई अर्धनग्न बजार घुमाउने सिके राउतका १७ कार्यकर्ता रिहा
टुडेपाटी–
जनकपुरधाम। मंसिर १ गते ।
जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अनमावीय व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना नेताकार्यकर्ता धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत धनुषाको आदेशमा १० जनालाई ५०-५० हजार र ७ जनालाई १-१ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका हुन् ।
मंगलबार साँझ आदालतको आदेशमा उनीहरुलाई रिहा गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले टुडेपाटीलाई जानकारी दिए । पक्राउ परेको २६ दिन पश्चात उनीहरु रिहा भएका हुन् ।
गएको कार्तिक ४ गते खानेपानीका निमित प्रमुख कुशवाहालाई उनीहरु कार्यालयबाट नियन्त्रणमा लिएर अर्धनग्न बनाइ जकपुर बजार घुमाउँदै अमानवीय व्यवहार गरेका थिए।
Sponsored
सोही क्रममा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डललाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूविरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
रिहा पश्चात उनीहरु मंगलबार साँझ जनकपुरमा विजय जुलुस प्रदर्शन गरेका छन् ।