TodayPati

प्रदेश २ : कित्ता फेरेर मन्त्री पद जोगाएका रायको पद धरापमा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

पार्टीमा कित्ता फेरेर मन्त्री पद जोगाएका प्रदेश २ का एक मन्त्रीको पद गुम्न लागेको छ । प्रदेश २ सरकार स्थापना हुँदा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट उद्योग वन पर्यटन तथा वातावरण मन्त्री बनेका रामनरेश रायको मन्त्री पद गुम्न लागेको हो ।

उनको मन्त्रालय अहिले नेकपा एकीकृत समाजवादीलाई दिएर मन्त्री मण्डल विस्तारको मुख्यमन्त्री लालबाबु राउतले तयारी गरेको छ । आज साँझसम्म मन्त्री पदबाट राजिनामा दिएर मार्ग प्रसस्त गर्न रायलाई मुख्यमन्त्री राउतले निर्देशन दिएको श्रोतले जनाएको छ । उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयसहित दुई मन्त्रालय दिएर मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई दिएर सरकार विस्तारको तयारी गरेका हुन् ।

Sponsored

राय तत्कालिन समयमा राजपाका ६ संयोजक मण्डलका अध्यक्ष मध्ये महेन्द्र राय यादवको कोटाबाट मन्त्री बनेका थिए । पछि पार्टी एकता भएर जसपा हुँदा र पुनः विभाजन हुँदा महन्थ ठाकुर पक्षका महेन्द्र, रामनरेश र नवल किशोर साहले कित्ता फेरेर जसपा उपेन्द्र पक्षमै बसे। त्यसकारण रामनरेश र नवल किशोर साहको समाजिक विकास मन्त्री पद जोगिएको थियो।

दुबैजना जसपाका कार्यकारिणी सदस्य हुन् । दुबैजना कार्यकारिणी समितिमै भएको कारण पार्टी आधिकारितका लागि दुबैको मन्त्री पद उपेन्द्र यादवले जोगाएका थिए । राय र साह प्रदेश २ सरकारका व्यापक बद्नाम मन्त्री हुन् । कार्यशैली ठीक नभएको भन्दै दुबैजनाको चर्को आलोचना हुँदै आएको छ ।

तर महन्थ पक्षमा खुलेका तत्कालिन भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग वन पर्यटन तथा वातावराण राज्यमन्त्री सुरेश मण्डललाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए । त्यसपछि केहि मन्त्रालय फुटाएर १० मन्त्रालय बनाइ काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याएको थियो । माधव नेपाल पक्षको लागि दुई मन्त्रालय भने मुख्यमन्त्री आफै राखेका थिए ।

Sponsored

महेन्द्र राय अहिलेको गठबन्धननको संघीय सरकारमा कृषिमन्त्री छन्। सोही कारण उनकै कोटाका मन्त्री राम नरेशलाई मुख्यमन्त्री राउतले फिर्ता बोलाउन लागेका हुन्।

स्रोतका अनुसार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको वाणिज्य तथा शिक्षा मन्त्रालय एकीकृत समाजवादीलाई दिन टुंगो लागेको हो। मंगलबार एकीकृत समाजवादीका दुई मन्त्रीको सपथ हुने विश्वसनीय स्रोतले जनाएको छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतोको नेतृत्वमा सरकारमा जाने सम्भावना रहे पनि अन्य एकजना को मन्त्री बन्ने भन्ने टुंगो लागेको छैन।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *