प्रदेश २ सरकारमा सहभागि हुँदै एकीकृत समाजवादी, मंगलबार दुई मन्त्रीको सपथ
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।
प्रदेश २ सरकारले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ल्याएर मन्त्रीमण्डल विस्तारको तयारी गरेको छ ।
एकीकृत समाजवादीले कार्तिक ३१ पछि सरकारमा सहभागि नहुने डेडलाईन दिएपछि मुख्यमन्त्री लालबाबु राउतले आफ्नै पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन् ।
मुख्यमन्त्री राउतले दुई मन्त्रालय दिएर एकीकृत समाजवादीलाई सरकारका सहभागी गराउने तयारी गरेको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।
ती श्रोतका अनुसार जसपाकै फाँटमा परेको उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई फिर्ता बोलाएर समाजवादीलाई सो सहित दुई मन्त्रालय दिई मन्त्रिमण्डल विस्तार गर्न लागेको हो ।
स्रोतका अनुसार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको वाणिज्य तथा शिक्षा मन्त्रालय एकीकृत समाजवादीलाई दिन टुंगो लागेको हो। मंगलबार एकीकृत समाजवादीका दुई मन्त्रीको सपथ हुने विश्वसनीय स्रोतले जनाएको छ।
Sponsored
एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतोको नेतृत्वमा सरकारमा जाने सम्भावना रहे पनि अन्य एकजना को मन्त्री बन्ने भन्ने टुंगो लागेको छैन।
एकीकृत समाजवादीभित्र मन्त्री बन्ने धेरै आकांक्षी रहेकाले सो विषय टुंगो लगाउन सकस भएको छ। भोलि सोमबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउने एक सांसदले जानकारी दिए।
मुख्यमन्त्री लालबाबु राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन केही मन्त्रालय फुटाएर बनाइएका १० मन्त्रालयमध्ये बाँकी रहेका दुई मन्त्रालय एकीकृत समाजवादीलाई दिने योजनामा छन्।
मुख्यमन्त्री राउतसँग कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बाँकी छ। तर वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयलाई संशोधन गरी वाणिज्य तथा शिक्षा मन्त्रालय बनाएको स्रोतको भनाइ छ।
नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भएपछि एमालेका २१ प्रदेश सांसदमध्ये १३ जना नयाँ पार्टीमा लागेका छन्।