सरकारी गाडीको दुरुपयोग गरेको भन्दै गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा
टुडेपाटी–
सिरहा, कार्तिक २६ गते ।
सिरहा प्रहरीले सरकारी गाडी दुरुपयोग गरिएपछि एक गाउँपालिका अध्यक्षको गाडी नियन्त्रणमा लिएको छ । जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा २ झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।
गाडीमा भने पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले गाडीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ ।
विष्णुपुरका एक वडाध्यक्षले रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले उक्त गाडी जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको बताए । प्रवक्ता बुढाथोकीले इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको उक्त गाडी त्यहाँ राख्न सुरक्षित नहुने देखेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।
यता गाउँपालिका अध्यक्ष जागेश्वर यादवले उक्त गाडी वडाअध्यक्ष कपिलदेव यादवले छठ घाटमा घुम्न जान्छु भनेर लगेको बताए । उनले आफुसँग जसले गाडी लगेको उसैले ल्याउने आफु नजाने बताए ।
Sponsored