देउसी खेलिरहेका समूहलाई बसले ठक्कर दियो २ जनाको मृत्यु, ८ घाइते, बसमा आगजनी
टुडेपाटी-
हेटौडा, कार्तिक २१ गते ।
हेटौडामा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमर्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीमा देउसी खेलिरहेका समूहलाई गए राति पौने १० बजे हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ००१ ख ०९३६ नम्बरको बसले ठक्कर दिएको हो ।
ठक्करबाट हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवन घर भएका प्रेम सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
दुर्घटनामा ८ जना घाइते भएका छन् । जस मध्ये एकजनाको अवस्था गम्भीर छ ।
घाइते ७ जनाको चितवन मेडकल कलेजमा उपचार घर फर्किसकेको र गम्भीर घाइतेको उपचार सोहि हस्पिटलमा भइरहेको डिएसपी रिमालले जानकारी दिए ।
Sponsored
घटना लगतै बस र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
‘नेवारपानी नजिकैको मन्दिर अगाडिको सडक छेउमा नाचगान गर्दै देउसी खेलिरहेको स्थानीयको समूहलाई अनियन्त्रित रुपमा आएको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । आगजनीबाट बस जलेको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए ।