आजदेखि छठ पर्व सुरु
टुडेपाटी-
जनकपुरधाम, कातिक २१ गते ।
मिथिलाञ्चलसहित तराई मधेशमा आजदेखि छठपर्व विधिवत सुरु भएको छ ।
पाँचदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलोदिन आज (आइतबार) ब्रतालुले माछा र कोदो बारने (नखाने) दिन हो । यो दिनलाई माछमरुवा बार्ने दिन पनि भनिन्छ ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको दोश्रो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाचौ दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
Sponsored
तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।
त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ ।