पटाखाको प्रयोगले पर्यावरणमा के असर पार्छ भन्ने कुरामा ध्यान दिनुपर्छ : पोखरेल
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १९ गते ।
नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले जलवायु परिवर्तनको प्रत्यक्ष असर विश्वलाई नै प्रभावित गरिरहेकाले विषेश सावधानी अपनाएर चाडपर्व मनाउनु पर्ने धारणा राखेका छन् ।
पूर्वमन्त्री समेत रहेको प्रतिनिधिसभा सदस्य पोखरेलले आफनो फेसवुकपेजमा स्टाटस लेख्दै वर्तमान परिवेशमा चाडपर्वको समयमा पर्व मनाउने क्रममा विशेष रुपमा सावधानी अपनाउन आग्रह गरेका हुन् ।
‘विश्व यतिबेला जलवायु परिवर्तनको महासम्मेलनमा जुटेको छ । जलवायु परिवर्तनले मानवजाति सामू गम्भीर प्रश्न र चुनौती खडा गरेको छु”, उनले लेखेका छन्, ‘यसबेला, हाम्रा चाडपर्व मनाउँदा पटाखा जस्ता साधनको प्रयोगले पर्यावरण र मानव स्वास्थ्य तथा अन्य जीवजन्तुमा के कस्तो असर पार्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ ।’
पोखरेलले पर्वलाई हामीले अन्धविश्वास र उपभोक्ताबादबाट मुक्त गर्दै सहज, समयानुकूल, आर्थिकरुपमा धान्न सकिने र विज्ञानसम्मत मनाउनुपर्ने धारणा राखेका छन् ।
चाडपर्वले मानवजीवनलाई निराशबाट खुशी र उल्लासमय बनाउन मद्दत गर्दै आएको समयमा हामीले यस्ता संस्कृतिका धरोहरलाई संरक्षण गर्नुपर्ने आवश्यकताउपर पोखरेलले जोड दिएका छन् ।
Sponsored
उनले कोरोनाको विपद्बाट सुरक्षित हुन नसकेका समयमा यसतर्फ विशेषरुपमा ख्याल गर्दै चाड पर्व मनाउनका लागि आग्रह गरेका हुन् ।