गणेशमान चारनाथ नगरपालिकाको वडा नं. १ कार्यालयमा लागेको ताला खोल्ने सहमति
विनोद महतो-
धनुषा, कार्तिक १६ गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा १ छिहत्तर विघास्थित वडा कार्यालयमा लगाएको ताला खोल्ने सहमति भएको छ ।
वडा कार्यालयमा पर्खाल निर्माणको जग्गाको नापी जाँच नगरि गर्न थालेपछि स्थानीयहरुले कार्तिक १५ गते सोमबार तालाबन्दी गरेको थियो ।
तालाबन्दी र पर्खाल निर्माणको विषयमा मंगलबार वडाका जनप्रतिनिधीहरुबीच छलफल भएपछि स्थानीयहरुका माग अनुसारै दिपावलीपछि जग्गाको नापी गराउने निर्णय गर्दै मंगलबारदेखि नै ताला खोलाउने सहमति भएको वडाअध्यक्ष रामसुक यादवले जानकारी दिएका छन् ।
वडा कार्यालय भवनको लागि वडा सदस्य समेत रहेका उतिचन यादवले १५ धुर जग्गा उपलब्ध गराएको थियो ।
अहिले सो जग्गामा वडा कार्यालयको एक तल्ले भवन बनेर संचालनमा आइसकेको छ ।
वडा कार्यालयको अगाडी कम्पाउण्ड निर्माणका लागि केही दिनदेखि उपभोक्ता समितिले बाउण्ड्री दिन थालेपछि स्थानीयहरुले अमिन लगाएर १५ धुर जग्गा नापी गरेर मात्र बाउण्ड्री निर्माण गर्न कार्तिक ३ गतेदेखि माग गर्दै आएका थिए ।
Sponsored
तर मागप्रति कुनै सुनवाई नभएपछि स्थानीयहरुले कार्तिक १५ गते वडा कार्यालयको मुल गेटमा तालाबन्दी गरेको थियो । यता वडा अध्यक्ष यादवका अनुसार अब १५ धुर जग्गा नापी गरेर स्थानीयहरुकै सहमतिमा बाउण्ड्री निर्माण गरिनेछ ।
स्थानीयहरुका अनुसार जग्गादाता एवं वडासदस्य उतिचन यादवले वडाअध्यक्ष लगायत अन्य जनप्रतिनिधी र वडाबासीको मागलाई वेवास्ता गर्दै उपभोक्ता समिति मार्फत बलजबरजस्ती जग्गा नापी नगर्दै बाउण्ड्री निर्माण गर्न लगाएका थिए । सो बाउण्ड्री निमार्णको लागि २ लाख ५० हजार रुपैयाँ छुटयाइएको छ ।
तर पालिकाबाट बाउण्ड्री निर्माणको लागि कार्यादेश समेत नलिई इस्टीमेटकै भरमा उपभोक्ता समितिले निर्माण कार्य गर्न थालेपछि जनप्रतिनिधी र उपभोक्ता समितिको विरुद्धमा चौतर्फी आलोचना भएको थियो । आलोचना भएपछि हालको लागि बाउण्ड्री निर्माण कार्य रोकिएको वडाअध्यक्ष यादवले बताएका छन् ।