TodayPati

आज देखि जनकपुरधाममा तीनदिवसीय महिला हस्तकला मेला सुरु हुँदै

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।

जनकपुरधाममा आज देखि दोस्रो प्रदेश स्तरीय महिला हस्तकला प्रदर्शनी हुने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कँदै गएको बेला देशभित्रै उत्पादन भएका वस्तुको बजारलाई चलायमान बनाउन उक्त आयोजना गर्न लागिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालकाको सहआयोजनामा आज देखि आइतवार सम्म प्रदेशस्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी आयोजना हुन लागेको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए । सो मेलाको समुद्घाटन प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले गर्नेछन् ।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा महिला उद्यमीले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष शाक्यले बताए ।
जनकपुरधामको गोपाल धर्मशालामा हुने प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमी तथा बाहिर जिल्लाका सहभागीसमेत रहने बताइएको छ । सो प्रदर्शनीमा ७० देखि ९० वटा स्टल राखिनेछ भने स्टलको शुल्क लाग्ने छैन ।

प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहना, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तु राखिनेछ ।

मेलामा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ भने मेलामा २५ हजार आगन्तुक आउने अनुमान गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *