बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन राजीनामा
टुडेपाटी
हेटौंडा, कार्तिक १० गते । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढनु पर्ने आवश्यक रहेको उनले बताइन् । प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको मुख्यमन्त्री शाक्यले बताइन् ।
प्रदेशको विकासको लागि सबै मिलेर काम गर्नुपर्ने भम्दै मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताइन् ।
बागमती प्रदेशलाई नमुना प्रदेस बनाउन बनाउन सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने शाक्यले बताइन् ।
शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।
तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।
त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
बागमती प्रदेशसभामा १०९ जना सदस्य रहेकोमा मुख्यमन्त्री शाक्यसँग ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।