८ लाख घुस लिएका बटेश्वर गाउँपालिका अध्यक्षलाई ओलीले जोगाए : मातृका यादव
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ८ गते ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका प्रसाद यादवले गाउँ गाउँमा अधिकार भन्दा भ्रष्टाचार बढी गएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रले धनुषाको बटेश्वर गाउँपालिकामा आयोजना गरेको जनयुद्धका सहिद रामकरण महतोको १८ औं स्मृतिसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता यादवले पार्टीको सिद्धान्त अनुसार गाउँगाउँमा सिंहदरबार पठाउँदा त्यहाँ अधिकारको साथसाथै भ्रष्टाचार आएको बताए ।
‘गाउँगाउँका सिंहदरबार आउँदा अधिकारको साथसाथ भ्रष्टाचार आएको छ । यसले जनतामा खासै अधिकारको आएको अनुभूति हुन सकिरहेको छैन’ उनले भने ‘यदि अधिकार र भ्रष्टाचारलाई तराजुमा जोख्ने हो भने भ्रष्टाचार नै भारी हुन्छ ।’
उनले बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत यसको प्रमाण रहेको बताए । ‘माथि प्रधानमन्त्री हुँदा केपी ओलीले नै भ्रष्टाचारको नेतृत्व गरे । किनभने सिंहदरबार पनि भ्रष्टाचारको केन्द्र छ । त्यहाँबाट गाउँगाउँमा सिंहदरबार पुग्दा भ्रष्टाचार पुग्यो ‘ उनले भने ‘ त्यसको प्रमाण तपाईंहरुकै बटेश्वर गाउँपालिका अध्यक्ष छन् । ८ लाख घुससहित पक्राउ परेका थिए । ओलीले नै छुटाइदिए । भ्रष्टाचारमा माथि ओली सरदार, तल डम्बर सरदार ।’
उनले देशमा सुशासन नभएसम्म जनतामा परिवर्तनको अनुभूति नहुने बताए ।
भ्रष्टाचारको बढामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बताउँदै उनले अगामी चुनावमा एमाले प्रतिगमनकारीको पत्ता साफ हुने दावी गरे ।
अहिलेकै गठबन्धन मध्येका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मोर्चा बनाएरै अगामी चुनाव लड्ने बताउँदै उनले आफैमा विवाद, तानातान नर्न आग्रह गरे ।
जनयुद्धकै कारण राजतन्त्र फाल्न ठूलो सफलता मिलेको तर, जनयुद्धकै सहिदहरुको हालसम्म सरकारबाट सहिद घोषणा हुन दुखद रहेको उनको भनाइ छ । जनयुद्धका सहिदलाई सरकारले सहिद घोषणा गर्न जनदवाव सृजना गर्न सबैमा आग्रह गरे ।
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले बटेश्वर गाउँपालिका क्षेत्रको भूमिगतकालमा ठूलो फौजी कारबाहीको माओवादीको सेल्टर रहेको चर्चा गरे । उनले सहिदहरुकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले उनीहरुको सम्मान हुनुपर्ने, ठाउँठाउँमा सालिक, सहिद पार्क, प्रतिष्ठान स्थापना हनुपर्ने धारणा राखे ।
Sponsored
नेकपा माओवादी केन्द्र बटेश्वर गाउँपालिका वडा नं. १ का कमिटी अध्यक्ष रामचन्द्र महतोको अध्यक्षतामा भएको सो स्मृति सभामा माओवादी केन्द्र धनुषाका सचिव दीपक यादव, बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिलादेवी महतो, मओवादी नेतृ तथा सहिद रामकरणकी पत्नी तारादेवी महतो, वाइसीएल प्रदेश २ इन्चार्ज शंकर महतो, माओवादी नेता रामकुमार महतो, जागेश्वर महतो, देवसागर दास, वडा नं. १ का अध्यक्ष शैलेन्द्र महतो लगायतले सहिद रामकरणको जीवनीमाथि चर्चा गरेका थिए भने उदघोषण शिक्षक रामवृक्ष महताले गरेका थिए ।
सो कार्यक्रममा सहिद परिवारहरुलाई सम्मान समेत गरिएको छ ।