जनमत पार्टीद्वारा चरणवद्ध आन्दोलनको घोषणा, सोमबार सिटी जुलुस
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ७ गते ।
सीके राउत नेतृत्वको जनमत पार्टीले सरकार र प्रहारी प्रशासन विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकबाट भोलि (सोमबार)देखि कात्तिक १६ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।
राउतले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार जिल्ला सदरमुकामहरूमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने रहेको छ ।
यस्तै १६ गते वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरुको गरेर माग जनतासमक्ष जानकारीहरु गराउने तथा सर्वपक्षीय जनआन्दोलनको तय समेत गरिने राउतले बताएका छन् ।
चार पृष्ठ लामो विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको नीति लिएको भन्दै त्यसको विरोध गरिएको छ । यस्तै पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग पनि गरिएको छ ।
Sponsored
भ्रष्टाचारमा संलग्न प्रदेश २ का जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाउन अख्तियारसँग माग गरेको छ । यस्तै जनकपुरस्थित जनमत पार्टी कार्यालयको साइनबोर्डमा भएको आगजनीमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई राउतले ४८ घण्टाको अल्टिमेटम दिएका छन् ।
पछिल्लो समय राउतले भ्रष्टाचारविरुद्ध गतिविधि सञ्चालन गर्दै आएका छन् भने सोही क्रममा जनकपुरमा कर्मचारीलाई अर्धनग्न बनाएर राउतका कार्यकर्ताले बजार घुमाएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई सो विज्ञपप्ती बोधार्थ गरिएको छ ।
गएको बिहीबार जनकपुरमा जनमत पार्टीका नेताकार्यकर्ताले खानेपानी तथा ढलनिकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यवहार गरेका थिए । सोही क्रममा जनमतका १७ जना नेताकार्यकर्ता पक्राउ परेका छन् । उनीहरु विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।
जनमत पार्टीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै आएका छन् ।