जनमतका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ४ गते ।
खानेपानी तथा ढल निकास कार्यालय ज नकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न घुमाउने जनमत पार्टीका १७ जना नेताकार्यकर्तालाई प्रहरीले कारबाहीका लागि हिरासतमा राखेका छन् ।
दिउँसो प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना तथा प्रदर्शन गर्ने क्रममा साँझ पुनः ५२ जना जनमतका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
प्रहरीले नियन्त्रणमा लिएका ६२ जना मध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले राति साढे ८ बजे छाडेको जनाएको छ । तर, उनीहरु बाँकी सहकर्मीलाई समेत रिहाइका माग गर्दै अहिले पनि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।
१७ जनामाथि कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेताकार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले भोलि शुक्रबार वृहत संख्यामा जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने घोषणा गरेको छ ।
Sponsored
जनमत पार्टीका नेताकार्यकर्ताले बिहीबार साँझ जनकपुरमा मसाल जुलुस समेत प्रदर्शन गरेका छन् ।