प्रदेश २ मा बालीनालीको क्षति विवरण संकलन पश्चात राहत घोषणा गर्छौ : कृषि मन्त्री यादव
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ४ गते ।
प्रदेश २ सरकारले वेमौसमी अबिरल बर्षाबाट कृषि बालीनालीमा भएको क्षतिको विवरण संकलनपछि राहत प्याकजे घोषणा गर्ने जनाएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी क्षति विवरण संकलन गरी किसानका लागि राहत घोषणा गर्ने बताएका हुन् ।
अविरल बर्षा तथा हावाको प्रभावबाट कृषि बालीनालीमा परेको नकारात्मक प्रभावप्रति मन्त्रालय गम्भीर र चिन्तित रहेको बताए ।
‘पहिलो चरणमा बालीनालीमा भएको क्षतिको विवरण संकलन हुँदैछ । क्षति विवरण संकलनका लागि मातहतका निकायहरुमा पत्राचार गरी क्षतिको अवस्था यकिन गर्ने कार्य भईरहेको छ । क्षति विवरण आएपछि सोहि आधारमा राहत प्याकेज बनाउँछौं’, मन्त्री यादवले भने ‘विवरण पश्चात केन्द्र, प्रदेश र स्थानीय तीनै सरकारबीचमा समन्वय गरी राहत प्याकेज घोषणा गर्छौं ।’
यस वर्ष प्रदेश २ मा ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएको बताउँदै मन्त्री यादवले धानबाली भित्र्याउने बेलामा आएको अविरल बर्षाले किसानको मिहिनेत तथा लगानी खेर जाने डर हुनु स्वभाविक रहेको बताए ।
Sponsored
फाटफुट रुपमा कटानी भएको पाजा ९पसही० खेतमा नै डुबेको, हावाको बेगका कारण लामो उचाइ भएका धानका जातहरु ढलेको बारे सूचनाहरु प्राप्त भइरहेको मन्त्री यादवको भनाइ छ ।
उनले खेतमा फलेको तरकारीबालीमा नोक्सानको साथै दलहन र तेलहन बाली लगाउन बाधा पर्न सक्ने समेत बताए ।
वर्षाको कारण पशुपन्छीको सन्दर्भमा हालसम्म क्षतिको जानकारी प्राप्त नभएको उनले जानकारी गराए ।