दशैंमा सप्तरीका ३५ वर्षीय मनोजले २१ औं पटक शरीरमा उमारे जमरा, २२ मिनेट स्वाँस रोक्ने
विजय साह-
जनकपुरधाम, असोज ३० गते ।
साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पारेका छन् ।
सप्तरीको राजविराज घर भएका ३५ वर्षीय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उर्मारेका हुन् । उनले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए ।
भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको बताउने साधक मनोजकुमारले नेपालमा यो पाँचौ पटक भएको जानकारी दिए ।
सुख, शान्ति र लोककल्याणको कामना गर्दै घटस्थापनादेखि नवमीसम्म निराहार ब्रत बसेर शरीरमाथि जमरा उमार्ने गरेको उनले सुनाए ।
एकाइसौं पटक शरीरमाथि जमरा उमारेको सफलता पछि साधक मनोजकुमार २२ मिनट स्वाँस रोकेर विश्वसामू देखाउने दाबी गरे ।
Sponsored
उनले अबको केही महिनापछि राजधानी काठमाडौंमा नेपाल सरकार तथा अरु देशका प्रतिनिधिहरुको उपस्थितिमा स्वाँस रोकेर देखाउन तयारी गरिरहेको बताए ।
यस अतिरिक्त पानीमाथि हिड्ने र आगोमाथि बसेर धार्मिक आस्था जगाउने भन्दै मनोजकुमारले कुनै दैवीय शक्ति र तान्त्रिक विधाबाट नभई साधनाबाट प्राप्त शक्तिको आधारमा आफूले त्यस्तो गर्ने जानकारी दिए ।
उनले भने “म कुनै नयाँ कार्य गर्न लागेको होइन्, सनातनकालमा ऋषिमुनि, ज्ञानी, ध्यानी तथा राजा महाराजाहरुले आफूलाई गहिरो समाधिमा लैजानुहुन्थ्यो, आत्मविश्वास बढाउन तथा मनलाई भड्किन नदिन यो विद्या प्रयोगमा ल्याउनुहुन्थ्यो, त्यसैले प्राचीन कालमा यसलाई प्राण विद्या तथा त्रिकाल विद्या पनि भनिन्थ्यो ।,
नेपाल ऋषिमुनीहरुको देश भएको र प्रत्येक दशैंमा उहिले ऋषिहरुले यस किसिमको तपस्या गर्ने गरेको उनको भनाइ छ ।
साधक मनोजकुमारले भने , ‘ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक रहन्थ्यो, तर अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् ।’
राजा जनकले पनि यस किसिमको तपस्या गर्नेगरेको उनले दावी गरे । ‘म नौ दिनसम्म केही पनि नखाइपिई निराहार ब्रत बसेको थिएँ । सामान्य कमजोरी समेत महसूस भएन् । यो नै दैवी शक्ति हो’ उनले भने, “तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु हो ।”
“नेपालीको दुःख हटोस्, देशमा सुख र शान्ति आवस् भनेर त्यसकै निम्ति म प्रत्येक दशैंमा यस किसिमको तपस्या गर्दै आएको छु” उनले भने ।
मनोजको सफलता देखेर प्रतिनिधि सभा सदस्य तथा पूर्व नागरिक उड्यन तथा पर्यटनमन्त्री उमाशंकर अरगरियाले उनको (कुटी) मा गएर बधाई तथा शुभकमना दिएका छन् ।